
गोरखाका १० स्थानीय तहमा निशुल्क परिवार नियोजन शिविरको तयारी
तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका बाहेकका १० वटा स्थानीय तहमा निशुल्क परिवार नियोजन शिविर हुने भएको छ ।
सुनौलो परिवार नेपाल (मेरी स्टोप्स) को सहयोगमा स्वास्थ्य कार्यालय गोरखाले शिविर संचालन गर्न लागेको निमित्त कार्यालय प्रमुख विद्या तामाङले बताईन् । मंसीर १८ गतेदेखि पुसको ४ गतेसम्म शिविर संचालन हुने उनले बताइन् ।
धार्चे र भिमसेन थापा गाउँपालिकामा दुई दिन र अन्य पालिकामा एकदिने शिविर आयोजना गर्न लागिएको कार्यालयले जनाएको छ । ‘पालिकाको स्वास्थ्य शाखाले परिवार नियोजन गर्ने संभावित ब्यक्तिहरुको तथ्याङ्क संकलन गरेको छ’, स्वास्थ्य कार्यालयकी फोकल पर्सन सुकमेल बरालले भनिन् ‘दुई सयभन्दा बढिले स्थायी बन्ध्याकरण गर्न सक्ने अनुमान हाम्रो छ ।’ सन्तानको रहर पुगेका, लामो अवधीका अस्थायी साधन प्रयोग गरिरहेकाहरु जसले स्थायी बन्ध्याकरण गर्न चाहान्छन् उनीहरुलाई शिविरमा सेवा दिईनेछ ।
शिविरमा सहभागीलाई खाद्य आहारका लागि तीन सय रुपैयाँ दिईनेछ । गाउँपालिकाले मातहतका स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयम सेविकामार्फत उक्त तथ्याङ्क संकलन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
शिविरमा स्थायी बन्ध्याकरण मिनिल्याप र भ्यासेक्टोमी गरिनेछ । चुमनुब्री गाउँपालिकामा भने स्थायी बन्ध्याकरण गर्ने मानिस नभेटिएकाले शिविर संचालन नगरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।





