| आइतवार, कार्तिक २२, २०८३

धान उत्पादन ८ प्रतिशतले बढ्यो

गोरखामा यसवर्ष धान उत्पादन ८.२८ प्रतिशतले बढेको छ । गत वर्ष ४१ हजार सात सय ६० मेट्रिक टन धान फलेकोमा यस वर्ष ४५ हजार दुई सय २० मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र गोरखाका बागवानी बिकास अधिकृत प्रमोद गैरेले बताए ।


गतबर्ष ११ हजार सातसय हेक्टर क्षेत्रफलमा धान उत्पादन भएकोमा यसबर्ष ११ हजार नौ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । ‘क्षेत्रफल पनि बढ्यो, उन्नत बिउको प्रयोग र धानखेती अनुकुल मौसमका कारण यस वर्ष उत्पादन बढेको देखिन्छ’ उनले भने ।

गतवर्ष भन्दा यसवर्ष तीन सय हेक्टर क्षेत्रफलमा धान खेती बढेको अनुमान कार्यालयको छ । आर्थिक वर्ष २०७३/७४ मा १२ हजार एक सय ९५ हेक्टरमा धान खेती भएको थियो । यस वर्ष खेती भएको भन्दा करिब तीन सय हेक्टर बढी क्षेत्रमा त्यतिबेला पनि किसानले धान रोपेका थिए । त्यो वर्ष ३८ हजार पाँच सय ९७ मेन्ट्रिक टन धान फलेको बागवानी बिकास अधिकृत गैरेले बताए ।


अहिले कोभिड १९ को बढ्दो संक्रमण र रोजगारी गुमाएर युवाहरु गाउँ फर्किएको भन्दै स्थानीय तहले कृषिमा अनुदान दिने, प्रोत्साहानका कार्यक्रम संचालन गरेका छन् । तर पनि खेती गर्ने ठाउँ खासै बढेको छैन ।

उत्पादनको अनुपात पनि कम देखिन्छन् । बाँझो जग्गामा खेती गर्नेलाई नगद दिने, मल बिउ ढुवानीमा अनुदान, कृषिलाई आधुनिकिकरण तर्फ प्रोत्साहन गर्ने भन्दै हाते ट्याक्टर, थे्रसर बितरण लगायतका योजना स्थानीय तहले संचालन गरिरहेका छन् ।

गोरखा नगरपालिका, पालुङटार नगरपालिका र शहिदलखन गाउँपालिकामा धान धेरै उत्पादन हुन्छ भने तिब्बत सँग सिमाना जोडिएको चमुनुब्री र धार्चे गाउँपालिकामा धान उत्पादन हुँदैन । केही लोकल र अधिकासं उन्नत जातको धान किसानले लगाउने गरेका छन् । सावित्री, राधाचार नामका धान किसानले लगाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्