| आइतवार, कार्तिक २२, २०८३

बेनिघाट-आर्खेत सडक, योजना ठूलो, बजेट थोरै


पृथ्वीराजमार्गको बेनिघाट, गण्डकी गाउँपालिकाको सिउरेनीटार हुँदै आर्खेत सम्मको बूढीगण्डकी करिडोरको सडक उत्तरी गोरखा जोड्ने एउटा महत्वपूणर् मार्ग हो ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई प्रधानमन्त्री हुँदासम्म उक्त सडकलाई उत्तर दक्षिण राजमार्गको रुपमा विकास गर्ने लक्ष्यका साथ प्राथमिकतामा राखेर सरकारले बजेट बिनियोजन गरेको थियो । ट्रयाक खोल्दादेखि नै उक्त सडक प्राथमिकतामा थियो ।

अहिले पनि सो सडकको आर्खेत (हावाडाँडा) देखिमाथि नेपाली सेनाले ट्रयाक खोलिरहेको छ । त्यसभन्दा तल करिब ६५ किलोमिटर सडकको अबस्था भने अहिले बेहाल छ ।


‘बर्खाको तीन महिना त कुनैबर्ष पनि गाडी चल्दैन’, भीमसेन थापा ८ का सुन्दर श्रेष्ठले भने ‘छिट्टै कालोपत्रे हुन्छ भन्ने सुनेका थियौँ, अहिले त बूढीगण्डकी आयोजनाका कारण यो बाटो बन्दैन अरे भन्ने सुन्छौँ ।’

उक्त सडकले गण्डकी गाउँपालिका, शहिदलखन गाउँपालिका, भीसमेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका छुन्छ । बूढीगण्डकी नदी करिडोरका स्थानीयलाई राजधानी काठमाण्डौँ, चितवन लगायतका बजारसँग जोड्ने त्यो छोटो सडक मार्ग हो ।

गोरखा स्थित एघार किलो छेवेटार भालुस्वाँरा सडक आयोजना कार्यालयले उक्त सडक मर्मत संहार गर्दै आएको छ । ‘पाँच वर्ष यता उक्त सडक खण्डको बेनिघाटदेखि आर्खेतसम्म कम बजेट बिनियोजन भएको छ’ आयोजना प्रमुख इन्जिनियर राजेशकुमार यादबले भने ।

६५ किलोमिटर उक्त सडक खण्डमा मर्मतका लागि वार्षिक एकदेखि तीन करोड रकम आएको कार्यालयले जनाएको छ । ‘त्यति लामो सडक खण्डको मर्मत गर्न थोरै बजेट आउँछ, खोला, खाल्सी धेरै भएको ठाउँ छ, सामान्य मर्मत बाहेकलाई बजेट पुग्दैन’ आयोजना प्रमुख यादवले भने ।

कहिले कल्भर्ट मर्मत गर्ने, बर्खामा सडक सफा गर्ने, पहिरो पन्छाउने जस्ता काममा बिनियोजन भएको बजेट खर्च हुने गरेको छ ।


उक्त सडकको अधिकांस भाग राष्ट्रिय गौरवको रुपमा लिइएको बूढीगण्डकी जलविद्यूत आयोजना को डुबान क्षेत्रमा पर्छ । डुबान क्षेत्रमा पर्ने सडक भएकाले पनि बजेट बिनियोजन नभएको हुन सक्ने अनुमान कार्यालयको छ । तर त्यस क्षेत्रका स्थानीय भने आयोजना बन्ने समय अन्यौल भएकाले सडक स्तरोन्नती गर्नुपर्ने बताउँछन् ।

‘कि तत्काल आयोजना बन्नुपर्‍यो, नभए सडक बनाउनुपर्‍यो, त्यस क्षेत्रका स्थानीयले सडक सुविधा त पाउनुपर्‍यो नि’ भीसमेन थापा गाउँपालिका ८ का वडा अध्यक्ष बासु थापाले भने । उक्त सडक भएर धेरै मानिस यात्रा गर्ने भएकाले बर्खामा पनि चल्न सक्ने बनाउनुपर्ने उनी बताउँछन् । ‘नदी छेउको बस्ती, खेती गर्ने किसान धेरे भएकाले बजार र किसानलाई जोड्न पनि यो सडक महत्वपूणर् छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्