
गोरखा नगरपालिका कार्यालय अन्तर्गत सबै सेवा बन्द, विद्यालय पनि मंसिर ६ सम्म बन्द रहने (सुचना सहित)
नगरक्षेत्रभित्र कोभिड १९ को संक्रमण दर बढेपछि गोरखा नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सार्वजनिक सेवा बन्द गरेको छ ।
प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले सुचना जारी गर्दै कात्तिक २४ गतेदेखि मंसिर २ गते सम्म नगरपालिका र वडा कार्यालयको सार्वजनिक सेवा बन्द रहने बताए ।
‘अत्यावश्यक बाहेकका सेवा बन्द रहन्छ’ उनले भने ‘कार्यालय र वडामा काम गर्ने कर्मचारीलाई रुघाखोकी, ज्वरो समेत आएको र केही कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले सेवा बन्द गर्नु परेको हो ।’
कोभिड १९ को संक्रमण दर फैलने क्रम ब्यापक भएको भन्दै नगरपालिकाले कात्तिक २४ गते सोमवार देखि मंसिर ६ गतेसम्म नगरपालिका भित्रका निजी तथा सामुदायिक विद्यालय, सिकाई केन्द्र सबै बन्द रहने बताएको छ ।
केही विद्यालयका शिक्षकहरुमा कोभिड १९ पोजेटिभ देखिएको, कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले नगरपालिका भित्रका सबै विद्यालयको पढाई बन्द गर्न नगरपालिकाले निर्देशन गरेको छ ।
नगरपालिकाको बिभिन्न वडामा अन्यत्रबाट आउनेहरुलाई टोलबिकास संस्था र वडा कार्यालयमा जानकारी गराएर आउन समेत अनुरोध गरिएको छ ।
बैक तथा बित्तिय संस्था, बजारक्षेत्रमा भिडभाड नगर्न, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन पनि नगरबासीलाई अनुरोध गरिएको प्रमुख प्रशासकिय अधिकृत पन्तले बताए ।स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्न समेत अनुरोध गरिएको छ ।





