
गोरखामा देउसी भैलो खेल्न प्रतिबन्ध
बिभिन्न संघ संस्था, समुह, क्लव वा केही मानिस जम्मा भएर बालवालिका, युवायुवती देखि वृद्धवृद्धा सम्म तिहारमा देउसी भैलो खेल्थे । देउसी भैलोले तिहारको रौनक मनोरम बनाउँथ्यो । कतिपयले रमाईलाका लागि खेल्थे भने कतिपय संघ संस्था, समुह र क्लवले सामाजिक काम गर्ने योजना सहित देउसी भैलो खेल्थे ।
तर यस वर्ष गोरखामा ब्यक्ति, समूह, संघसंस्था कसैले पनि देउसी भैलो खेल्न नपाउने भएका छन् । बढ्दो कोरोना संक्रमणको त्रासका कारण जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै देउसी भैलो खेल्न रोक लगाएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले सुचना जारी गर्दै देउसी भैलो कार्यक्रम आयोजना नगर्न नगराउन निर्देशन गरेकी छिन् ।
प्रशासनको निर्देशनलाई अटेर गरी देउसी भैलो खेल्ने, मानिस भेला भएर समुहमा नाचगान गर्ने गरेमा प्रहरीले पक्राउ व्यहोरा सूचनामा उल्लेख छ । पटका नपड्काउन, चाडबाडको अवसरमा मेला पर्वको आयोजना नगर्न, सामाजिक दुरी कायम राख्न पनि प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ ।
जुवा तास खेल्ने, भेला हुने गरेमा संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन अन्र्तगत कानुनी कारवाही गरिने निमित्त प्रजिअ खत्रीले बताइन् । पटका बिक्री बितरण, भण्डारण नगर्न पनि प्रशासनले अपिल गरेको छ ।
पछिल्लो समय कोभिड १९ को संक्रमण दर गोरखामा बढेकाले सर्वसाधारणको स्वास्थ्य सुरक्षामा ध्यान दिँदै घर परिवार भित्र मात्रै तिहार, नेपाल संवत, छठ, ल्होसार मनाउन आग्रह गरिएको प्रशासनले जनाएको छ ।
चर्च, मस्जिद, गुम्बा, मन्दिर कतैपनि मानिस भेला हुने खालका धार्मीक कार्यक्रम गर्न प्रतिबन्ध गरिएको छ ।




