| आइतवार, कार्तिक २२, २०८३

बाह«किलो छेवेटार सडकमा ठेकेदारको लापर्वाही, स्थानीयले हातैले ‘पिच’ उप्काईदिए (फोटोहरु)

गोरखाको बाह«किलो बारपाक सडक खण्डको छेवेटार सेक्सनमा गरिएको कालोपत्रे गुणस्तरहीन भएको भन्दै स्थानीयले उप्काईदिएका छन् । आईतवार साँझ सडक दुबैतर्फ बन्द गरेर बिच भागमा निर्माण कम्पनीले मापदण्ड पुरा नगरी कालोपत्रे गरेपछि स्थानीयले सोमवार बिहानै हातैले कालोपत्रे उप्कादिए ।
‘हातले कोट्याउँदा आउने यो कस्तो कालोपत्रे हो’ स्थानीय इश्वर बस्नेतले भने ‘कालोपत्रे गर्दा ध्यान दिएनन् ।’ उक्त सडक खण्ड गोरखा एप्रोपिरेट प्रालीले निर्माण जिम्मा लिएको हो ।


एक किलोमिटर पाँच सय मिटर सडक कालोपत्रे गर्न एक करोड ७७ लाखामा सम्झौता भएको थियो । एघार किलो छेवेटार भालुस्वाँरा सडक आयोजना कार्यालयले २०७६ बैशाख ३० गते भित्र सिध्याउनुपर्ने सम्झौता गरेको थियो । कोभिड १९ को प्रभावका कारण निर्माण कम्पनीलाई छ महिना म्याद थप भएको छ ।
मंसिर ३० सम्म सिध्याउनुपर्ने कालोपत्रे समय घर्किएकाले ब्यवशायीले हतार हतार गरेका छन् । निर्माण कम्पनीको मनपरीका कारण कालोपत्रे गुणस्तरीय नभएको कार्यालयका इन्जिनियर राजेश यादबले बताए । ‘गुणस्तरहीन भएको ठाउँमा भत्काएर पुन कालोपत्रे गर्न लगाउँछौँ’ उनले भने ‘आफ्नो सुरमा ब्यवशायीले काम गर्दा यस्तो भयो ।’

सोमवार दिउँसो जेसिभी लगाएर गुणस्तरहीन काम भएको सडक भत्काउन लगाएको उनले बताए ।
निर्माण कम्पनीका इन्जिनियर अविजित कोईरालाले कालोपत्रेका क्रममा पेल्दा राम्रो सँग ‘सेट’ भएको बताए । ‘यहाँ केही कमजोरी भयो, हामी सुधार गर्छौँ’ उनले भने । अहिले कलोपत्रे हुन लागेको उक्त सडक केही वर्ष अघि कालोपत्रे भएर पुन भत्किएको खण्ड हो ।

प्रतिक्रिया दिनुहोस्