
सिर्दीबास ईलाका प्रशासनबाट नागरिकता बितरण रोकियो
कर्मचारी क्वारेन्टिन बसेपछि चुमनुब्री गाउँपालिका ३ सिर्दीबासमा रहेको ईलाका प्रशासन कार्यालयबाट नागरिकता बितरण रोकिएको छ ।
सर्वसाधारणले दशैँ अघिदेखि नागरिकता पाएका छैनन् । सामागाउँ, ल्हो, बिही, प्रोक, चुम्चेत, छेकम्पार, सिर्दीबास, केरौँजा र उहीया गरी साविकको नौ वटा गाविसका लागि त्यहाँ सेवा केन्द्र स्थापना गरिएको थियो । केरौँजा र उहिया धार्चे गाउँपालिकामा पर्छन भने अन्य सबै चुमनुब्री गाउँपालिकामा पर्छ ।
अहिले दिनहुँ नागरिकता लिन कार्यालयमा आउँ, भन्दै फोन गर्नेको संख्या धेरै छ । राहदानी बनाउन सिफारिस पनि त्यस क्षेत्रका स्थानीयले पाएका छैनन् । ‘इलाका प्रशासन कार्यालयका प्रमुख शिव गौतम पोखरा घरमा छन् ।
उनी आफु क्वारेन्टिनमा रहेको र परिवार भित्र कोरोना देखिएको भन्दै कन्ट्याक्ट ट्रेसिङमा रहेकाले आउन नसकेको बताउँछन् । कार्यालयमा कम्यूटर अपरेटर दिपक पाण्डे र सहयोगी कर्मचारी मात्र रहेको उनले बताए ।
‘दशैँ तिहारको बिचमा सेवा दिन सक्ने अवस्था छैन’ कार्यालय प्रमुख गौतमले भने ‘अब तिहार पछि सेवा लिन आउन भनेको छु ।’ चाडबाड मनाउन घर आएका बेला नागरिकता, राहदानी बनाउनेहरुले सेवा नपाउँदा सास्ती भएको छ ।
कतिपय भने दुई÷तीन दिन पैदल हिँडेर सिर्दीबास सम्म आएर फर्किएका छन् । ‘राहदानीको सिफारिसका लागि बिवरण माग्नेहरुलाई दिएका छौँ’ कार्यालय प्रमुख गौतमले भने ‘बिवरण भयो भने सदरमुकाम स्थित जिल्ला प्रशासन कार्यालयबाट पनि राहदानीको फराम भर्न मिल्छ ।’ नागरिकता बनाउन भने इलाका प्रशासन कार्यालयमा मात्रै मिल्छ ।
गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले कर्मचारी क्वारेन्टिन बस्नुपर्ने अवस्था हो भने सर्वसाधारणको सेवा नरोकिने गरी बैकल्पिक ब्यवस्था गर्न सकिने बताए । ‘त्यहाँ केही दिन नागरिकता संकलन गरेर जिल्ला प्रशासनको अधिकृतले हस्ताक्षर गर्ने गरी सेवा दिन मिल्छ’ उनले भने ।
त्यसका लागि भने इलाका प्रशासन कर्मचारीले सेवा दिन नसकिएको बारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउनुपर्छ ।




