| आइतवार, कार्तिक २२, २०८३

दशैँ आयो, बूढाबूढीले भत्ता पाएनन्

घटस्थापना बितेको तीनदिन भइसक्यो । अबको चार दिनमा फूलपाती, अष्टमी, विजया दशमी नजिकिँदै छ । बजारमा किनमेल गर्नेको घुँईचो छ । चाडबाडको बेला सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउँला र आफुलाई मन लागेको सामान किनौँला, मिठा खानेकुराले मुख फेरौँला भन्ने आश गरेका जेष्ठ नागरिक निराश छन् । सामाजिक सुरक्षा भत्ता पाउन योग्य गोरखाका आधाआधी सर्वसाधारणले अझै पाएका छैनन् ।

पालुङटार नगरपालिका, शहिदलखन गाउँपालिका, गण्डकी गाउँपालिका, भीमसेन थापा गाउँपालिका र सिरानचोक गाउँपालिकाका ज्येष्ठ नागरिकले वृद्ध भत्ता पाउन सकेका छैनन् ।

गोरखा नगरपालिका, आरुघाट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका र धार्चे गाउँपालिकाले बितरण गरिरहेको बताएका छन् भने चुमनुब्री र अजिरकोट गाउँपालिकाले बितरण सकिसकेको जनाएका छन् ।

शहिदलखन गाउँपालिकामा दशैँ अगाबै बितरण हुने संभावना कम छ । ‘हामीले सामाजिक सुरक्षा भत्ता रकम र बिवरण बैंकलाई पठाईसकेका छौँ’ प्रमुख प्रशासकिय अधिकृत जिवनबहादुर आलेले भने ‘बैंकलाई दशैँ अगाबै बितरण गर्न भनेका छौँ, तर सुरु भएको छैन ।’ ‘ख’ बर्गको अपाङ्गता परिचय पत्र भएका र ६० वर्ष मुनिका एकल महिलालाई भत्ता दिने निर्णय ढिला गरी गरेकाले समस्या भएको उनले बताए ।

गण्डकी गाउँपालिकाको गाउँसभा ढिला गरी असोज १४ गते सकिएको हो । गाउँसभा ढिला गरी भएकाले यस वर्ष सामाजिक सुरक्षा भत्ता दशैँ अगावै उक्त गाउँपालिकाले बितरण गर्न नसकेको जनाएको छ । कोभिडका कारण वडा नम्बर ७ र ८ मा भत्ता बितरण गर्ने बैंक बन्द हुँदा पनि केही समस्या आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङले बताए ।

पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले कर्मचारीलाई कोभिड १९ को संक्रमण देखिएका कारण भत्ता वितरणमा ढिलाइ भएको बताए । ‘निकासा भईसकेको छ, आईतवार बितरण सुरु भएको जानकारी आएको छ, दशैँअघि सक्छौँ’ उनले भने । बैंकले मात्रै नसक्ने भएपछि वडाका कर्मचारी र नगरपालिकाले सवारी साधन सहयोग गर्ने गरी बैंकसँग छलफल भएको उनले बताए । ‘जसरी पनि दशैँअघि दिने योजना हो’ अधिकृत शर्माले भने ।

भीमसेन थापा गाउँपालिकामा दशैँ अगाबै बितरण गर्ने गरी तयारी भईरहेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापाले बताए । ‘बजेट निकासाको तयारीमा छौँ, फुलपातीसम्म बितरण गर्ने लक्ष्य छ’ उनले भने । सिरानचोक गाउँपालिकाले पालिकाबाट निकासा भईसकेको र वडा वडामा कात्तिक ५ र ६ गते बितरण गर्ने तयारी भएको प्रमुख प्रशासकिय अधिकृत राजन भट्टराईले बताए ।

बितरण सुरु गरिसकेका स्थानीय तहले दशैँ अगाडि सबैलाई दिने योजना बनाएका छन् । गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले दशैँअघि सबैको हातहातमा भत्ता पुग्ने दाबी गरे । ‘बैंकिङ प्रणालीबाट बितरण गर्न सकिएन’ उनले भने ‘आउँदो चौमासिकदेखि बितरण गर्छौँ ।’

पालुङटार नगरपालिका, गण्डकी गाउँपालिका, शहिदलखन गाउँपालिका बाहेकका अन्य सबै स्थानीय तहले जनप्रतिनिधि र कर्मचारीमार्फत सामाजिक सुरक्षा भत्ता बितरण हुने बताएका छन् । कोभिड १९ को प्रभावका कारण बैंकले सबैलाई दशैँ अगाबै बितरण गर्न नसक्ने देखिएपछि कर्मचारी मार्फत बितरण गरिएको आरुघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले बताए ।

बारपाक सुलिकोट गाउँपालिकाले करिब ९० प्रतिशत नागरिकलाई सामाजिक सुरक्षा भत्ता बितरण गरिसकेको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए । ‘अब केही मात्र बाँकी छ’ उनले भने ‘आउँदो चौमासिकबाट बैंक मार्फत बितरण गर्ने योजनामा छौँ ।’

६० वर्ष मुनिका एकल महिला र ‘ख’ बर्गको कार्ड प्राप्त अपाङ्गता भएकाहरुको हकमा भने केही दिन अघि मात्रै सामाजिक सुरक्षा भत्ताको अख्तियारी आएकाले यस अघि बितरण गरिसकेका, निकासा लिइसकेकाले उनीहरुलाई दशैँ पछि बितरण गर्ने जनाएका छन् । ‘हामीले सामाजिक सुरक्षा भत्ता बितरण गरेपछि अख्तियारी आएकाले अहिले तत्काल ६० वर्ष भित्रका एकल र ख बर्गको अपाङ्गता भएकालाई दिन सक्ने अवस्था भएन’ चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले भने ‘अरु सबैलाई बितरण सक्यौँ ।’

प्रतिक्रिया दिनुहोस्