| आइतवार, कार्तिक २२, २०८३

आर्वाङको टावर बर्षदिनदेखि सञ्चालनमा आएन


आरुघाट गाउँपालिका ५ आर्बाङमा एक बर्षअघि निर्माण सम्पन्न नेपाल टेलिकमको टावर अहिलेसम्म सञ्चालनमा आएको छैन ।


टावर सञ्चालनमा नआउँदा भोगटेनी, आप्रिक, वयाक, पाखुरे, आर्बाङ क्षेत्रका मोबाइल प्रयोगकर्ताहरुलाई समस्या भएको स्थानीयबासीको गुनासो छ । ‘एनटिसीको टावरले काम गर्दैन, गाउँका मान्छेहरु एनसेल मात्र प्रयोग गर्न बाध्य भएका छन्’, वडाअध्यक्ष नारायणध्वज खड्का भन्छन् ।

एनटिसीको सिमकार्ड प्रयोगकर्ताहरु फोन प्रयोग गर्न आधाघण्टाको बाटो माथि डाँडामा जानुपर्ने बाध्यता रहेको आप्रिकका कुमार गुरुङ बताउँछन् । ‘हाम्रो गाउँमा एनटिसीको मोबाइलले कामै गर्दैन’, उनी भन्छन्, ‘एनटिसीको सिम चलाउनेहरु टावर टिपाउन आधाघण्टा माथिको मनकामना डाँडामा जानुपर्छ ।’ चारपाँचसय घरधुरी एनटिसीको सिमकार्ड प्रयोग गर्नबाट बञ्चित भएको उनको भनाइ छ ।


सो टावर सञ्चालनमा आएपछि आर्बाङ, आप्रिक, भोगटेनी, वयाक, पाखुरे, आरुपोखरी, बारपाक सुलीकोट गाउँपालिकाका केही गाउँहरु, मान्बुका, थुमीका र धादिङ जिल्लाका बसेरी, सल्यानटार क्षेत्रलाई समेत समेट्ने उनले बताए ।

नेपाल टेलिकम गोरखाका प्रमुख चन्द्रबहादुर श्रेष्ठ भने टावरसम्म विजुली बत्तीको लाइन लैजान स्थानीयबासीले रोकेका कारण टावर सञ्चालन गर्न नसकेको दाबी गर्छन् । ‘हामीले लापार्बाही गरेर टावर सञ्चालन नगरेको होइन । टावर सञ्चालन गर्न नसक्दा नेपाल टेलिकमलाई त धेरै नोक्सानी छ’, श्रेष्ठ भन्छन्, ‘टावर चल्न विद्युत लाइन चाहिन्छ । स्थानीयबासीले विद्युत लाइन लैजान रोकेका छन् ।’


करिब पाँचवटा पोल थप भएमा घुमाएर टावरसम्म लाइन तान्न सकिने वडाअध्यक्ष खड्काको भनाइ छ । त्यसतर्फ वातावरण बनिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्