| आइतवार, कार्तिक २२, २०८३

चर्च र सच्चाइ सुचारु, हिन्दू मठमन्दिर मात्र बन्द

कोभिड १९ को महामारी रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले मठ, मन्दिरहरु कडाइका साथ बन्द गरेको छ । तर यही बेला यहाँका चर्च तथा ‘सच्चाइ’ निर्वाध सञ्चालन भइरहेका छन् ।

११ वटै स्थानीय तहमा हरेक शनिबार चर्च तथा सच्चाइ निरन्तर रुपमा चलिरहेको विश्वासीहरु बताउँछन् ।


लकडाउनभन्दा केही अघिदेखि सुरु भएको पालुङ्टार नगरपालिका ९ सिस्नेरीको सच्चाइ हालसम्म निरन्तर रुपमा चलिरहेको सो सच्चाइका सदस्य टेकबहादुर सुनारी बताउँछन् । ‘हाम्रो सच्चाइ लकडाउन भन्दा केही अघिदेखि सुरु भएको हो’, उनी भन्छन्, ‘अहिलेसम्म निरन्तर चलिरहेको छ ।’ ३५ देखि ४० जनासम्मका विश्वासीहरु सच्चाइमा भेला हुने उनले बताए ।

‘हाम्रो गाउँका विश्वासीहरु सबै आउँछन्’, सुनारी भन्छन्, ‘एकपटकमा ३५ देखि ४० जनासम्म भेला हुन्छन् ।’ वडा नं. ९ को तीनठाउँमा सच्चाइ चल्ने उनले बताए ।
त्यस्तै हरेक शनिबार चर्चमा भेला भएर गरिने प्रार्थना पनि निर्वाध रुपमा चलिरहेको विश्वासीहरु बताउँछन् ।


सबैभन्दा धेरै गोरखा नगरपालिका र पालुङ्टार नगरपालिका सच्चाइ तथा चर्च सञ्चालनमा छन् । ती पालिकाका एउटै वडामा तीन भन्दा धेरै ठाउँमा सच्चाइ सञ्चालनमा रहेको विश्वासीहरु बताउँछन् ।

त्यस्तै सिरानचोक गाउँपालिका, बारपाक सुलीकोट गाउँपालिका, आरुघाट गाउँपालिका, गण्डकी गाउँपालिकाका सवै वडामा सच्चाइ सञ्चालनमा रहेका छन् । अन्य पालिकाको भने कुनैकुनै वडामा मात्र चर्च र सञ्चाइ सञ्चालित छन् ।


कोभिड १९ को संक्रमण न्यूनिकरण तथा रोकथामको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय गोरखाले हिन्दू र वुद्ध धर्मावलम्बीका मठमन्दिरहरु बन्द गर्न बारम्बार सूचना जारी गरेको छ । जिल्लाको सबैभन्दा ठूला गोरखकाली, गोरखनाथ र मनकामना मन्दिर कोरोना महामारी सुरु भएदेखि नै बन्द गरिएका छन् । आइतबार पुन सुचना प्रकाशित गरी यी दुई मन्दिर कडाइका साथ बन्द गर्न जिल्ला प्रशासन कार्यालयले फेरि सूचना जारी गरेको छ ।

‘जिल्लाका तीन ठूला गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा सर्वसाधारणको प्रवेशमा निषेध गर्नु गराउनु हुन’, प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईद्वारा जारी सूचनामा भनिएको छ ।


सार्वजनिक यातायातमा कोचाकोच यात्रा गर्न खुल्ला गर्ने, चर्च, सच्चाइहरु नियमित चल्ने तर मठमन्दिरमा पूजाआजा गर्न निषेध गर्नु रहस्यमय रहेको भन्दै सर्वसाधारणले आलोचना गरेका छन् ।


चर्च र सच्चाइ सञ्चालनमा रहेको बारे आफूहरु अनभिज्ञ रहेको सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री बताउँछिन् । ‘सच्चाइ सञ्चालनमा छ भन्ने हाम्रो जानकारीमा छैन त्यसैले निषेध नगरेका हौं’, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्