| सोमवार, कार्तिक २३, २०८३

बेलुकी ७ बजेपछि गोरखामा मदिरा बिक्री गर्न प्रतिबन्ध

जिल्ला प्रशासन कार्यालय गोरखाले बेलुकी ७ बजेपछि मदिरा बिक्री नगर्न निर्देशन गरेको छ । प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले ईजाजत प्राप्त पसलले पनि बेलुकी ७ बजेपछि मदिरा बिक्री गर्न नपाउने निर्देशन जारी गरेका हुन् । जुवातास खेल्न, खेलाउन नपाइने, मानिस भेला हुने कुनैपनि कार्यक्रम गर्न नपाउने, चियापान, शुभकामना आदान प्रदान जस्ता चाडबाड लक्षित कार्यक्रम नगर्न अनुरोध गरिएको प्रजिअ भट्टराईले बताए । ‘कोभिडको प्रभावका कारण सर्वसाधारण भेला, जमघट हुने खालका कार्यक्रम नगर्न भनेका हौँ,प्रजिअ भट्टराईले भने ।

गोरखकाली, गोरखानाथ, मनकामना लगायत शक्तिपिठमा नित्यपुजा बाहेक नगर्न नगराउन निर्देशन गरिएको छ । यो निणर्यले सर्वसाधारणले दशैँमा यी धार्मिक स्थलमा बली चढाउन नपाउने भएका छन् । पूजाआजा गर्ने क्रममा मानिसको भीड धेरै हुन सक्ने भएकाले प्रतिबन्ध गरिएको हो ।


पटका, अतासबाजी लगायत विस्फोष्टक पदार्थ नपड्काउन भनिएको छ । जो जहाँ छ, त्यहाँ नै दशैँ मनाउन अनुरोध गरिएको छ । यात्रा नगर्न, जमघट नहुन, घर भित्रै परिवारका सदस्य बिच मात्र दशैँ मनाउन जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्लाबासीलाई अनुरोध गरेको प्रजिअ भट्टराईले बताए । अत्यावश्यक काममा सवारी साधनको यात्रा गर्नुपरेमा मास्क, पन्जा, सेनिटाईजर, साबुन पानीले हात धुन आग्रह गरिएको छ । कोभिड १९ को लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्