| सोमवार, कार्तिक २३, २०८३

गोरखा क्याम्पस आइशोलेसन खालि गर्ने तयारी, संक्रमित सबै होम आइशोलेसनमा

गोरखा क्याम्पस आइशोलेसन खालि गर्ने तयारी गरिएको छ । एक साता एता थपिएका संक्रमितलाई होम आइशोलेसनमा राखिएको छ ।

यसअघि संक्रमण पुष्टि भएपछि स्वास्थ्य कार्यालय, संम्बन्धित स्थानीय तह र अस्पतालको समन्वयमा एम्बुलेन्समा राखेर गोरखा क्याम्पस आइशोलेसनमा राखिन्थ्यो ।
‘एक साता भयो हामीले आइशोलेसनमा मान्छे राखेका छैनौँ’, गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने । अहिले गोरखा क्याम्पसमा रहेको अस्पताल आइशोलेसनमा १६ जना पुरुष र दुई जना महिला छन् ।

त्यहाँ उपचाररत अधिकासं प्रहरीहरु रहेका छन् । गोरखामा सक्रिय संक्रमितको संख्या ९८ छ । १८ जना सामुहिक आइशोलेसन र बाँकी सबै होम आइशोलेसनमा रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए ।


गोरखा क्याम्पसले आइशोलेसन शहीद गरिदिन अस्पताल, जिल्ला प्रशासन र स्थानीय तहलाई बारम्बार अनुरोध गर्दै आएको छ । शैक्षिक गतिविधि संचालन गर्नुपर्ने, ल्याब, ब्यवस्थापन गर्नुपर्ने, त्रिभुवन विश्व विद्यालयले परीक्षाको मिति समेत तोकिसकेकाले आइशोलेसन हटाउन सबै पक्षसँग आग्रह गरिएको क्याम्प प्रमुख रामशरण बानियाँले बताए । दुई साता अघिदेखि क्याम्पसले आइशोलेसन हटाइदिन आग्रह गर्दै आएको छ ।


उक्त आइशोलेसन असार दोस्रो साता जिल्ला समन्वय समितिको अगुवाईमा गोरखामा ११ वटै स्थानीय तहले पाँचपाँच लाख रुपैयाँ जम्मा गरेर तयार गरेका थिए ।

ब्यवस्थापनमा चुनौती थपिँदै गएपछि र संक्रमित बढेपछि आइशोलेसनको जिम्मा गोरखा अस्पताललाई दिइएको थियो ।


अस्पतालले दशैँ तिहार लगायत चाडपर्वमा ब्यवस्थापन गर्न समस्या हुने भएपछि तत्कालका लागि आइसोलेशन शहीद गर्ने तयारी गरेको हो । अहिले त्यहाँ रहेको १८ जना पनि दशैँ अघि नै डिस्चार्ज हुने छन् । ‘संक्रमितमा लक्षण देखिएमा मात्रै अस्पतालको आइशोलेसनमा राख्ने हो’ अस्पतालको आइशोलेसन ब्यवस्थापन समितिका संयोजक गोवद्र्धन श्रेष्ठले भने ‘उपचार गर्नुपर्ने जटिल अवस्था आयो भने हामी अस्पतालबाट पनि सेवा दिन्छौँ, दिइरहेका छौँ ।’


दशैँ तिहारमा आइसोलेशनमा खाना खुवाउने, हेरचाह गर्ने, नियमित सरसफाई गर्ने कर्मचारी अभाव हुने, संक्रमित थपिँदै जाँदा चुनौती बढ्ने भएकाले अस्पतालले तत्काकालागि शहीद गर्ने रणनीति लिएको हो । ‘जिल्ला स्तरीय सिसिएपसीको बैठकले आइशोलेसन कसरी ब्यवस्थापन गर्ने भन्ने निर्णय गरेपछि मात्रै के भन्ने भन्ने एकिन होला’ अस्पताल ब्यवस्थापन समितिका सदस्य समेत रहेका श्रेष्ठले भने ।


जिल्ला स्तरीय सिसिएमसीको बैठकले भने आइशोलेसन राख्ने वा हटाउने बारे कुनै निर्णय गरको छैन ।

यसअघि स्थानीय तहहरुसँग उक्त विषयमा छलफल हुँदा बिकल्प नभएको प्रतिक्रिया दिएका थिए । होम आइसोलेशनमा बस्न सक्ने अवस्था छ भने घरमै बस्न बातावरण मिलाउने भन्ने योजना सरकारको हो’ प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले भने । घरमा बस्न नमिल्ने अवस्था भएकालाई सम्बन्धित पालिकाको केन्द्रमा रहेको आइशोलेसनमा राख्ने, त्यहाँ पनि सम्भव नभए मात्रै सामुहिक आइसोलेशनमा ल्याउने निर्णय भएको उनले बताए । ‘तत्काल आइसोलेशन हटाउन नसकिएला तर बिकल्प खोजेको साँचो हो’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्