
नौ अर्ब कमिशनको प्रमाण भए पेश गर्नू, नभए माफ माग्नू : कांग्रेस नेता पाण्डे
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले काङ्ग्रेसको बुई चढेर सांसद बनेका बाबुराम भट्टराईले काङ्ग्रेसलाई बद्नाम गर्न अनर्गन प्रचार गरेको भन्दै आक्रोश पोखेका छन् ।
भट्टराईले नौ अर्ब कमिशनमा काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको नाम जोडेर भाषण गरेका गोरखाको पालुङ्टारमा बुधबार आयोजित काङ्ग्रेसको सभामा बोल्दै पाण्डेले माफी माग्न भट्टराईलाई आग्रह पनि गरेका छन् ।
‘काङ्ग्रेसको बुई चढेर चुनाव जितेर त्यही काङ्ग्रेसका आदरणीय नेतामाथि मिथ्या आरोप लगाउनु बेइमानी हो’, उनले भने, ‘प्रमाण छ भने पेस गर्नुहोस् नभए माफ माग्नुहोस् । यत्तिका नेता भएर जे मुखमा आयो त्यही बोल्दै हिँड्नु गैरजिम्मेवारी पन हो ।’ भट्टराईले आरोपका लागि मात्रै आरोप लगाएको भन्दै उनले प्रमाण पेश गर्न चुनौती दिए ।
सोही ठाउँमा गतहप्ता पार्टी प्रवेश कार्यक्रममा बोल्दै जसपाका नेता भट्टराईले प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड र देउवाले नौ अर्ब रुपैयाँ कमिशन खाएर बूढीगण्डकी जलविद्युत आयोजना अलपत्र पारेको आरोप लगाएका थिए ।
नेपाली कांग्रेस पालुङटार नगर समितिका सभापति दिपकबाबु कंडेलको अध्यक्षतामा भएको क्रियाशिल सदस्यता फाराम बितरण कार्यक्रममा जिल्ला सभापति हरिबहादुर घले, मुस्लिम संघका केन्द्रिय अध्यक्ष अब्दुल सतार, गण्डकी प्रदेश सांसद मनकुमारी गुरुङ, कोषाध्यक्ष कृष्ण आले, क्षेत्र नम्बर २ का सभापति गोबिन्द गुरुङ, प्रदेश २ क का सभापति नारायण गुरुङ, गोरखा नगरसभापति चन्दनबाबु खत्री, लगायतले मन्तव्य ब्यक्त गरेका नगर सचिव सरोज देवकोटाले जानकारी दिए ।
सोही अवसरमा मुस्लिम संघका केन्द्रिय अध्यक्ष सतारले १० वटै वडाका विद्यालयलाई नगर सभापति कँडेल मार्फत वितरण गर्नेगरी १० हजार थान मास्क बितरण गरेका थिए । कांग्रेस गोरखाले १४ औँ महाधिवेशन तयारीका लागि अहिले गाउँगाउँमा क्रियाशील सदस्यता फारम बितरण गरिरहेको जनाएको छ ।




