| सोमवार, कार्तिक २३, २०८३

चाडबाड लागेसँगै गोरखा प्रहरीको विशेष सुरक्षा योजना लागु

दशैँ तिहार, छठ नेपाल संवत लगायत चाडपर्वलाई मध्यनजर गर्दै गोरखा प्रहरीले विषेश सुरक्षा योजना तयार गरेको छ । कार्यालय, मातहतका चौकीको सुरक्षा, संभावित अपराध न्यूनिकरणका योजनामा कसरी प्रहरी परिचालन गर्ने भन्ने रणनीति तयार गरिएको प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।
सोमवार पत्रकार सम्मेलन गर्दै प्रहरीले चाडबाडमा हुन सक्ने चोरी, जुवातास, तस्करी रोक्न प्रहरीको पैदल गस्ती, मोवाईल गस्ती, सादा पोसाक गस्ती, मादक पदार्थ सेवन गरे नगरेको चेकजाँच लगायतलाई निगरानी गर्ने उनले बताए ।

गोरखा सदरमुकामको बिभिन्न ठाउँमा दुई सय २७ र सदरमुकामबाहिर दुई सय ५० जना प्रहरी ड्युटीमा खटिनेछन् ।
‘बैंक तथा बित्तीय संस्था, ब्यस्त बजार क्षेत्र, आवतजावत बढि हुने नाकामा हामीले निगरानी बढाउँछौँ’ एसपी गुरुङले भने ‘राजमार्ग क्षेत्रमा पनि नियमित सवारी चेकजाँच रहन्छ ।’ सवारी दुर्घटना न्यूनिकरण, चोरी डकैती, कालोबजारी, अपराध हुन नदिन र भएमा तत्काल कानुनी दायरामा ल्याउन प्रहरी परिचालन सुरु गरिसकिएको उनले बताए । ‘नियमित कार्यालयबाट सिसिटिभी निगरानी पनि गर्नेछौँ’ एसपी गुरुङले भने ।
कमाण्डपोष्ट, सरप्राईज चेकिङ जस्ता अभियान पनि प्रहरीले चलाउने भएको छ । गत वर्षहरुमा पनि चाडबाडका बेला विशेष सुरक्षा योजना बनाएर प्रहरीले काम गर्दै आएको थियो ।

ट्राफिक प्रहरीले साउनदेखि असोजसम्म सवारी नियम उलंघन गर्ने छसय ३२ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरेको छ । जसबाट चार लाख ४६ हजार पाँच सय राजस्व सङ्कलनभएको छ । पछिल्लो समय गोरखा प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार र उत्खननमा संलग्न २९ वटालाई कारवाही गरेको छ ।

नियन्त्रणमा लिइएका ती सबै सवारी साधन जहाँबाट नियन्त्रणमा लिइएको छ सोही स्थानीय तहमा कारवाहीका लागि पठाइएको एसपी गुरुङले बताए । कारवाहीमा परेका सवारी साधनले पाँच लाख ८० हजार जरिवाना तिरेका छन् । स्थानीय तहले प्रहरीले पक्राउ गरेका सवारी साधनबाट सङ्कलनजरिवाना रकम मध्ये २० देखि ३० प्रतिशत प्रोत्साहन दिने निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्