
च्याङ्लीमा कृषि क्याम्पस ‘गफमै सीमित’
पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङ्लीमा कृषि क्याम्पस सञ्चालन गर्ने चर्चा ‘गफ’मै सीमित भएको छ । च्याङ्लीको ठाँटीटार र बोटगाउँको आठ बिगाहा क्षेत्रफलमा स्नातक तहको कृषि क्याम्पस सञ्चालन गर्ने भनेर तीनबर्षदेखि चलेको चर्चा ‘गफ’मै सीमित भएको हो ।
एएफयू अन्तर्गतको बीएससी एजीमा पढाइ सञ्चालन गर्ने प्रस्ताब आएपछि नगरसभाबाट जग्गा पास गरेर दिएको वडा अध्यक्ष वसन्तकुमार श्रेष्ठले बताए । ‘वनको जग्गा रहेछ । क्याविनेटमा पास गर्न नसकेर ।
‘हामीले जीवनज्योति माविको २७ रोपनी जग्गा पास गरेर दिने प्रक्रिया अघि बढाइसकेका थियौँ । कबुलियती वनको दुईसय रोपनी जग्गाको भोगाधिकार दिनका लागि नगरपालिकाबाट पास गरेर जिल्ला प्रशासन कार्यालयमा बुझाएका पनि हौं तर त्यहाँ गएर फाइल रोकियो ।’ नौ महिनादेखि जिल्ला प्रशासन कार्यालयमा फाइल अड्किएको श्रेष्ठले बताए ।
एएफयूले पनि कुनै बेला लालपूर्जा चाहिन्छ भन्ने, कुनै बेला भोगाधिकार भए पनि हुन्छ भनेर दोधारे कुरा गरेकाले पनि समस्या भएको वडाअध्यक्ष श्रेष्ठले बताए । ‘यता एएफयूले हातमा लालपूर्जा नपरी काम अघि बढ्दैन भन्ने, उता प्रशासन कार्यालयले भोगाधिकारका लागि पनि फाइल अड्काइदिने, हामी दोहोरो चेपुवामा पर्यौँ’ वडाअध्यक्ष श्रेष्ठले भने, ‘सिडियोसावलाई कुरा बुझायो, बल्लबल्ल हुन्छ भन्ने बनायो, अनि सरुवा भइहाल्छ ।
छ, छ महिनामा सिडियोसावहरुको सरुवाले पनि हाम्रो काममा बाधा भएको हो ।’
आवश्यक जग्गा जुट्न नसकेका कारण प्रक्रिया अघि नबढेको एएफयूका कृष्णहरि ढकालले जानकारी दिए ।
‘न्यूनत्तम आठ बिगाहा जग्गा चाहिन्छ । त्यो नै प्राप्त भएको छैन’, उनले भने, ‘स्थानीय तहबाट यत्ति ब्यबस्था भयो भने हामी तत्काल प्रक्रिया अघि बढाइहाल्छौं ।’
एएफयूले पोखराको पुरनचौर, धनकुटाको बर्दिबास, बाँकेको खजुरा, महोत्तरीको बर्दिबास, कैलालीको टिकापुर, रोल्पाको बाणिचौर र सिन्धुलीमा क्याम्पस स्थापना गरी पठनपाठन सञ्चालन गरिसकेको तर गोरखामा ढिला भएको उनले बताए ।




