| आइतवार, कार्तिक २२, २०८३

केपी ओली, शेरबहादुर र प्रचण्डमाथि नौ अर्ब रुपैयाँ भ्रष्टाचारको आरोप

बहालवाला प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आरोप लगाएका छन् ।


पालुङ्टार नगरपालिका वडा नं. ६ पौवाटारमा बिहिबार आयोजित राजनीतिक कार्यक्रममा बोल्दै उनले तीन प्रधानमन्त्रीले अर्बौको भ्रष्टाचार गरेको प्रमाण पेश गर्न आफू तयार रहेको बताए । ‘करोड र लाखका कुरा छोडौं, अरब, अरबको लुट भइरहेको छ । म प्रधानमन्त्री छँदा शुरु गरेको बूढीगण्डकी जलविद्युत आयोजनाबाट केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डले नौ अर्ब रुपैयाँ कमिशन खाएर अलपत्र पारिरहेका छन्’, भट्टराईले भने, ‘मलाई थाहा छ यो कुरो । प्रमाणित गर भन्नुभयो भने म तुरुन्त गर्न सक्छु । यो मात्र होइन, अरु दस, आठ वटा आयोजनाबाट अर्बौअर्ब कमिशन खाएर मुखमा बुझो लाएर बसेका छन् । चिट चोरेर आठ कक्षा पास गरेका र १० कक्षामा फेल भएकाहरुले कमिशनखोरसंगको साँठगाँठबाट मुलुक चलाएकाले अहिले यस्तो दुर्दशा भएको हो ।’


अर्को फरक प्रसंगमा भट्टराईले केपी शर्मा वलीसँगको संगतले प्रचण्ड धुरुधुरु रोएर बसिरहेको आरोप लगाए । ‘प्रचण्डजी केपी शर्मा वलीको पछि लागेर त जानु भयो तर अहिले धुरुधुरु रोएर बस्नु भएको छ’, भट्टराईले भने, ‘तपाईँहरु नपत्याउनु होला, बढि कुरा ग¥यो नभन्नु होला । म उहाँको निवासमा गइरहेको हुन्छ । उहाँलाई के भइरहेको छ भन्ने कुरा मलाई सबै थाहा छ, किनभने प्रचण्डजीसंग अहिले पनि मेरो अत्यन्त राम्रो सम्बन्ध छ । उहाँ मसँग बिलौना गर्नुहुन्छ । प्रचण्डजी ओलीको फेला पर्नुभयो । ओलीले पछारेको पछारै छन् ।’

बाहिरबाट देख्नेले बाबुराम पनि नेकपामा जाँदै छ है भनेर गलत टिप्पणी गर्ने गरेको उनले बताए । ‘ओली गणतन्त्र र संघीयताका बिरोधी हुन् भन्ने थाहा थियो । कम्युनिष्ट होइनन् भन्ने पनि थाहा थियो । लौ डुबियो, बर्बाद भयो कमरेड भनेर प्रचण्डजी सँधै बिलौना गर्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्