| सोमवार, कार्तिक २३, २०८३

प्रधानमन्त्रीकै कारण लोकतन्त्र असुरक्षित


शिव उप्रेती
गोरखा : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सत्याग्रह माग पूरा गर्न दबाब दिने आधुनिक युगको आधुनिक कडी भएकाले सरकारले डाक्टर गोविन्द केशीको शान्तिपूर्ण माग पूरा गर्नुपर्ने तर्क गरेका छन् । गृहजिल्ला गोरखाका सञ्चारकर्मीहरुसंगको भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले स्वास्थ्य जस्तो महत्वपूर्ण पक्षलाई सस्तो र सर्व सुलभ ढंगले सबैमाझ पुर्याउने डाक्टर केशीको माग पूरा गर्न पछि पर्नु नहुनेमा जोड दिए ।

‘कसैले पनि शान्तिपूर्ण ढंगले सत्याग्रहको माध्यमबाट माग राख्छ भने एउटा आधुनिक युगको लोकतान्त्रिक सरकारले वार्ता र संवादद्वारा हल गर्नुपर्छ’, उनले भने, ‘तर यो सरकारले पूरै उपेक्षा गर्ने जुन नीति लिएको छ, यो बिल्कुलै गलत छ । सरकारले तुरुन्तै वार्ता गरेर उहाँको माग सम्बोधन गरी उहाँको जीवन रक्षा गर्नुपर्छ भने र जोड दिन्छु ।’

साथै डाक्टर भट्टराईले संघीयताको मर्म र भावना विपरीत सीधै ठाडो आदेश दिएर पाँच नंबर प्रदेशको केन्द्र र नाम निर्धारण गरिएकोमा विरोध गरेका छन् । ‘संघीयता र गणतन्त्रका सबैभन्दा प्रखर विरोधी समकालीन नेपालमा केपी ओलीजी हो । उहाँको हातमा मुलुकको बाग्डोर पुग्नु नै बिडम्बना हो’, उनले भने, ‘उहाले संघीयता र वर्तमान संविधानको मर्म र भावना विपरीत ठाडो आदेश दिएर हिजोको महेन्द्रीय शैलीमा विकास क्षेत्र, अञ्चलको राजधानी तोके झै तोक्ने प्रयत्न भएको छ ।

संविधान सभामा पचासौँ पटक छलफल भएर, विज्ञहरुसंग छलफल र गोष्ठी गरेर समिति र आयोगले प्रतिवेदन दिएको थियो । त्यसमा पहिचानका पाँच आधारहरु थिए । यो सबैले स्वीकार गरेकै कुरा हो । तर अहिले हचुवाका भरमा निरंकुश शैलिमा राजधानी र नाम तोक्ने काम भयो । यो दुखद छ ।’ अध्ययन र राजनीतिक चिन्तनको अभावका कारण ओलीले यस्ता हर्कत गरेको उनको आरोप छ ।
‘यो केपी शर्मा ओलीको राजनीतिक चिन्तनकै अभावको उपज हो’, उनले भने, ‘हामी सबैले यत्रो संघर्ष गरेर ल्याएको लोकतन्त्रलाई एउटा पार्टीभित्रको एउटा गुटको बन्धक बनाउने र उसको लहडमा देश कतिञ्जेल चल्छ ? यसले देशमा लोकतन्त्र सुरक्षित छैन भन्ने देखाएको छ ।’

प्रतिक्रिया दिनुहोस्