
आयुर्वेद उपचारमा विश्वास बढ्दै ४ वटा पालिकामा आरोग्य केन्द्र सञ्चालन हुँदै
गोरखामा आयुर्वेद उपचार गराउनेको संख्या बढिरहेको छ । पछिल्लो समय कोभिड १९ को महामारीका बीच औषधी उपचार पहिचान नहुँदा अझै मानिसमा आयुर्वेद उपचारप्रति विश्वास बढेको चिकित्सकहरुले बताएका छन् ।
‘आइसोलेशनमा रहेकाहरुलाई पनि हामीले आयुर्वेद औषधी बितरण गर्यौँ’, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र घैरुङका डाक्टर प्रशान्त पण्डितले भने । कोरोनाबाट बच्न मानिसले आयुर्वेद औषधी र पद्धति अपनाएको उनले बताए । आयुर्वेद स्वास्थ्य संस्था रहेको ठाउँमा कोरोना संक्रमितलाई इम्यूनिटी पावर बढाउने औषधी बितरण गरिएको छ । ‘कोडिभको प्रभावका बिच पनि हामीले केन्द्रहरु संचालन गरेर सेवा दिईरहेका छौँ’ उनले भने ।
कोभिड १९ को प्रभावका गत असारसम्म २२ हजार जनाले गोरखाका बिभिन्न छ वटा आयुर्वेद संस्थाबाट उपचार सेवा लिएका छन् । त्यसअघिको वर्ष सेवा लिनेको संख्या करिब १८ हजार थियो । पालुङटार नगरपालिका, गोरखा नगरपालिका, शहिदलखन गाउँपालिकाको मनकामना, घैरुङ, गण्डकी गाउँपालिकाको फुजेल, बारपाक सुलिकोट गाउँपालिकाको सौरपानीमा आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ ।
‘चालु वर्ष चार वटा ठाउँमा आयुर्वेद स्वास्थ्य सँस्था थपिन्छ’ उनले भने ‘तर कहाँ थपिन्छ भन्ने यकिन भइसकेको छैन ।’ नागरिक आरोग्य केन्द्रको रुपमा चालुबर्ष चार वटा गाउँपालिकामा आयुर्वेद स्वास्थ्य संस्था संचालन आउनेछ । ‘यस अघि नभएका पालिकालाई प्राथमिकता दिएर कार्यक्रम संचालन गर्नेछौँ’ डाक्टर पण्डितले भने ।
अजिरकोट गाउँपालिका आफैँले आयुर्वेद औषधालय संचालन गरेको छ भने सिरानचोकमा गण्डकी प्रदेशकै ठूलो राष्टिूय आयुर्वेद तथा अनुसन्धान तालिम केन्द्र स्थापना हुँदैछ । स्वास्थ्य मन्त्रालय मातहत रहने गरी त्यहाँ विषेशज्ञ सेवा सहित केन्द्र स्थापना हुन लागेको हो । तर अहिले काम अघि बढेको छैन ।
चिकित्सक र एक जना सहयोगी सहित क्लिनिक मात्रै संचालनमा छ । यो वर्ष स्थापना हुने आयुर्वेद केन्द्रमा प्राविधिक र सहायक गरी दुई जना कर्मचारी रहेनछन् । कर्मचारीका लागि तलब भत्ता मात्रै पठाउने र कार्यक्रम भने गाउँपालिकासँगको समन्वयमा संचालन हुने केन्द्रले जनाएको छ । कुनकुन पालिकामा केन्द्र रहने भन्ने यकिन भने हुन बाँकी रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । आयुर्वेद संस्थामा भएको औषधी निशुल्क दिने र ओपिडि सेवा दिने काम निरन्तर चलिरहेको डाक्टर पण्डितले बताए ।
‘आउँदो वर्षहरुमा आयुर्वेद औषधालयलाई स्तरोन्ती गर्दै प्यारालाईसिस, बाथ जस्ता रोगका बिरामीलाई भर्ना गरेर उपचार सेवा दिने योजनामा छ’ उनले भने । अहिले गोरखामा आयुर्वेदको आधारभूत बाहेकका सेवा छैनन् ।




