| सोमवार, कार्तिक २३, २०८३

बस चढेर तिब्बत जाने छेकम्पारबासीको सपना नौ बर्षदेखि अधुरै

नौबर्षअघि एमआई सेभेण्टिन हेलिकोप्टरले बुलडोजर तुन्द्रुङ्ग झुण्ड्याएर भटटट गर्दै गाउँ आउँदा छेकम्पारबासीको भुइँमा खुट्टा थिएन । छेकममा भेला भएका गाउँलेहरुले हेलिकोप्टर, पाइलट, ठेकेदार, सहयोगीहरुलाई खादामाला लगाइदिए ।

अब तिब्बतको सहरसम्म बस चढेर जानआउन पाइने भयो भनेर नौ बर्षअघि जुन आशा थियो, त्यो अहिले निराशामा परिणत भएको छ । त्यतिबेलाको उत्साह अहिले लज्जामा परिणत भएको छ ।
‘निले गाउँमा हेलिकप्टरबाट डोजर झार्ने भनेर हामी हेलिप्याडमा खादा माला लिएर भेला भएका थियौँ’, गाउँमा डोजर ल्याउँदाको स्मरण गर्दै स्थानीय पासाङ छ्योपेल भन्छन्, ‘हेलिकोप्टरले डोजर बोकेर त आयो तर मुगुम्बा पुगेर फनक्कै घुमाएर लग्यो र सबैभन्दा पुछारको छेकम गाउँमा बस्यो ।

त्यसपछि आज आइपुग्ला नि छैन, भोलि आइपुग्ला नि छैन, दुईबर्ष बित्यो डोजर हाम्रो गाउँमा आइपुगेन । खै त डोजर भनेर सोध्यो, आज ब्यक्तिको जग्गा सम्याउँदैछ भन्छन् । भोलि पनि खै त डोजर भनेर सोध्यो होटल बनाउँदै छ भन्छन् ।

पर्सि पनि खै त डोजर भन्यो, यो सामान बिग्रिएको छ, त्यो बिग्रिएको छ भनेरै यत्रो बर्ष बिताइदिए ।’ सरकारी खर्चमा लगेको डोजर ठेकेदारले आफूखुशी कमाउ धन्दामा प्रयोग गर्न नपाउनुपर्ने उनको तर्क छ
छेकम्पारबाट जम्मा ३६ किलोमिटर सडक निर्माण गरेपछि मुलाढाजेन सीमानामा पुगिन्थ्यो, तर करिब २० किलोमिटर सडक खनेपछि ठेकेदारले काम छाडे ।
अहिले सडक म्हु गुम्बासम्म पुगेको छ । त्यहाँ तार जाली लगाउनु पर्ने काम अड्केको चुमनुब्री ७ का वडाअध्यक्ष पासाङ फुञ्जो लामा बताउँछन् ।
‘काम ठप्पै रोकिएको दुई बर्ष भयो’, उनले भने, ‘यसअघि निर्माण भएको सडक घाँसले ढाकेको छ । छेउकुना पहिरिएर ठाउँठाउँमा सडक चिन्न नसक्ने अबस्थामा छ । कतिपय ठाउँमा सडक क्षेत्रभित्रै स्थानीयले खेती गरेका छन् ।’
ठेकेदारले डोजर अन्तिम गाउँ निलेमा लगेर थन्क्याएका छन् । काम नगर्ने डोजर देख्न नपरे पनि मनमा शान्ति मिल्ने छिरिङ दोर्जे बताउँछन् । ‘कि दिनहूँ डोजर देख्न नपरे हुन्थ्यो । साँझ बिहान डोजर देखेपछि मन बिग्रिन्छ’, उनी भन्छन्, ‘यो डोजर देखेपछि मोटरबाटोको याद आउँछ । बरु देख्न नपरे ढुक्कै हुन्थ्यो ।’

चुमनुब्री गाउँपालिका अझैसम्म सडक सञ्जालसँग जोडिएको छैन । गोरखा सदरमुकाम आइपुग्न गाउँबाट पाँच दिन पैदल हिडनुपर्ने यहाँका बासिन्दाको वाध्यता छ । दैनिक उपभोग्य सामान महंगो भाडा तिरेर तिव्वतदेखि याक, चौँरी, झोपा वा खच्चडबाट बोकाएर ल्याउनु पर्छ । आरुघाट, आर्खेत वा माछाखोलाबाट खच्चडमा बोकाएर लगेको सामान पनि महंगो पर्छ ।
गोरखाको छेकम्पारदेखि चिनको सीमाना नल्याङभञ्ज्याङ सम्मको मोटरबाटो बनेको खण्डमा दैनिक उपभोग्य बस्तु सुपथ मूल्यमा पाउने स्थानीयबासीको आशा छ ।

‘तलबाट नेपाली सेनाले सडक खन्दै लगेको छ । त्यो सडक सिर्दिबासम्म पुगेको छ । अब चुम्चेतको भूभाग छिचोल्न पाइयो भने छेकम्पारसम्म सडक पुग्थ्यो’, स्थानीय निमा लामा भन्छन्, ‘सडक बन्यो भने त यहाँ पाउने जडिबुटीको व्यापार गर्न सहज हुन्थ्यो । तिब्बतदेखि सदरमुकामसम्म सडक जोडिन्थ्यो ।’ भारतीय रक्सौल नाकादेखि तिब्बतको केरुङ सहरसम्म छोटो दुरीको राजमार्ग बन्ने स्थानीय निमा लामा बताउँछन् ।

गोरखा सदरमुकामदेखि चिनको सीमाना नल्याङभञ्ज्याङ जोड्ने यो सडकको लम्वाई एकसय २० किलोमिटर रहेको गोरखास्थित सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सो सडक चीनको सीमाना नल्याङ भञ्ज्याङ जोडन पाँचहजार दुईसय मिटर भन्दा अग्लो पहाड छिचोल्नुपर्दछ ।

‘नल्याङभञ्ज्याङ, छेकम्पार, चुम्चेत, सिर्दिबास सडकका लागि दुईवटा ठेक्का छ । एउटा सूर्य गोरखा जेभी, अर्को कन्काई गोरखा जेभी । तर काम भने गोरखा एप्रोप्रियटले मात्र गरेको हो’, इन्जिनियर राजेश यादबले भने, ‘एउटा ठेक्का सडक बिभाग अन्तर्गत छ । त्यसमा बजेट नआएको दुई बर्ष भयो । अर्को प्रदेश सरकारले गरेको छ ।’

सो सडक निर्माण गरिरहेका निर्माण व्यवसायी इश्वर बस्नेत भने भौगोलिक जटिलता, हावापानीको समस्या, कर्मचारीको आलटाले प्रवृत्ति र स्थानीयबासीको बाधा व्यवधानका कारण काम गर्न कठिनाइ भएको तर्क गर्छन् ।

प्रतिक्रिया दिनुहोस्