
कैदीबन्दीको सवाल : हामी संक्रमित भयौँ भने आइसोलेशन खै ?
गोरखा कारागारका कैदीबन्दीले आफूहरुलाई कोरोना संक्रमण भयो भने उपचार गराउन आइसोलेशन वार्ड नभएको गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुदीप पाठकसंगको भेटमा उनीहरुले कारागारभित्र स्वास्थ्य सुरक्षा सामग्री समेत नभएको गुनासो गरेका थिए ।
‘हामी कारागारभित्र बस्नेलाई मास्क छैन । बेलाबेला सेनिटाइजर प्रयोग गर्नुपर्छ तर सेनिटाइजरको अभाव छ । सौचालयको पनि अभाव छ’,एक बन्दीले भने, ‘यदि कसैलाई कोरोना संक्रमण भयो भने, उपचार गर्न राख्नका लागि अलग्गै आइसोलेशनको व्यवस्था छैन ।’ कारागारको पूर्वाधार पनि समस्याग्रस्त भएको उनीहरुको गुनासो थियो ।
गोरखा कारागारमा सात महिलासहित एकसय पाँचजना कैदीबन्दी छन् ।
गोरखा कारागारको अनुगमन गर्दै आयुक्त पाठकले देशभरका कारागारको भौतिक संरचना दयनीय रहेको बताएका थिए । साथै उनले कारागारको भौतिक संरचना पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
देशभरका २७ वटा कारागार अनुगमन गर्ने क्रममा पाठक गोरखा कारागार आइपुगेका थिए । कोरोनाका कारण सबैभन्दा बढि कैदीवन्दी र वैदेशिक रोजगारमा गएकाहरु भएकाले कैदीबन्दीको अबस्थाको अनुगमन गरेको उनले बताएका थिए ।
कारागारको अनुगमनको क्रममा आयुक्त पाठकले प्रमुख जिल्ला अधिकारी, प्रहरी, पत्रकार महासंघ, सरकारी वकिल, बारलगायतसंग जिल्लाको मानव अधिकारको वर्तमान अबस्थाको बारेमा जानकारी लिएका थिए ।




