| सोमवार, कार्तिक २३, २०८३

पालुङ्टारमा निर्माण हुने भनिएको औद्योगिक क्षेत्र ‘गफ’ मात्रै

पालुङ्टार वडा नं. ७ च्याङ्लीमा प्रदेश स्तरको औद्योगिक क्षेत्र निर्माण हुने चर्चा ‘गफ’ मै सीमित भएको छ । चर्चा चलेको तीनबर्ष बितिसक्दा पनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पूर्व सम्भाव्यता अध्ययन पनि नगरेपछि यो बिषय ‘गफ’ मात्रै हुन पुगेको हो ।

सरकारले पानपा ७ च्याङ्लीको दसहजार रोपनी क्षेत्रफल भूभागमा गण्डकी प्रदेशस्तरको औद्योगिक क्षेत्र बनाउने बारे छलफल अघि बढाएको थियो । लामो छलफल र गृहकार्यपछि स्थानीयबासी सो ठाउँमा आवश्यक पर्ने जग्गा उपलब्ध गराउन पनि सहमत भएका थिए ।

त्यति हुँदा पनि लिमिटेडले काम अघि नबढाएको पालुङ्टार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले जानकारी दिए । ‘लामो समय भयो, अहिले केही प्रक्रिया अघि बढेको छैन । कुनै सोधपुछ, भ्रमण, अध्ययन भएको छैन’, मेयर कँडेल भन्छन्, ‘प्रक्रिया कहाँ पुगेर रोकिएको हो, किन रोकिएको हो, केही थाहा पाउन सकिएन । मच्चियो, मच्चियो, थच्चियो जस्तो भएको छ ।’ औद्योगिक क्षेत्र स्थापनाका लागि नगरपालिकाले गर्ने सबै खालको सहयोग गरिरहेको उनले बताए ।
तर लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले कोरोना महामारीका कारण काम रोकिएको तर्क गरेका छन् । ‘यो बर्ष कोरोना र लकडाउनले गर्दा काम रोकिएको हो’, उनले भने, ‘अब अबस्था सामान्य हुनासाथ हामी सम्भाव्यता अध्ययन गर्छौँ । विस्तृत अध्ययन प्रतिवेदन तयार गर्छौँ र वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढाउँछौँ ।’ स्थानीयबासीबाट झुठा नाम प्रयोग गरी लिमिटेडको मुख्य कार्यालयमा आएर सो ठाउँमा जग्गा नदिने भनी उजुरी दिएका कारण पनि केही समय काम रोकिएको उनले बताए ।
औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेडले पालुङ्टार वडा नं. ७ को ज्याग्दीखोलादेखि वडा नं. ८ को हजारफाँटसम्मको क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना पर्ने प्रक्रिया अघि बढाएको थियो । सो नगरपालिकाको कार्यपालिका बैठकले औद्योगिक क्षेत्र स्थापनाका लागि सिफारिस पनि गरिसकेको छ । औद्योगिक क्षेत्र स्थापना गर्न आबश्यक पर्ने १० हजार रोपनी जग्गा अत्यन्त सुहाउँदो भएकाले लिमिटेडले गत माघ २५ गते पहिलो चरणको अध्ययन गरेको थियो ।

यसअघि लिमिटेडले तनहूँको कोत्रे, कास्कीको पटनेरीमा प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको थियो तर पर्याप्त जग्गा र उपयुक्त स्थान नभेटेपछि च्याङ्लीको जग्गाको अध्ययन गरेको थियो ।
यहाँ औद्योगिक क्षेत्र स्थापना भएमा बहुराष्ट्रिय कम्पनी तथा स्वेदशी उद्योगपतिहरुले पाँचसय वटा भन्दा धेरै उद्योग सञ्चालन गर्नेंछन् ।

उद्योगमा स्थानीयबासीले रोजगारी पाउने व्यबस्था छ । यहाँ उत्पादित सामान स्थानीय स्तरमा, प्रदेशमा उपभोग गर्ने र बाहिर समेत निर्यात गर्ने लिमिटेडको लक्ष्य रहेको अध्यक्ष बस्नेतले बताए । साथै पालुङ्टारलाई ै स्मार्टसिटी बनाउने सरकारले निणर्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्