
परम्परा अनुसार अन्त्यष्टि गर्न पाउनु पर्ने गोरखाका मुस्लिम समुदायको माग
कोरोना महामारीका कारण मृत्यू भएका मुस्लिम समुदायको शव परम्परागत धर्म संस्कार अनुसार अन्त्येष्टि गर्न पाउनु पर्ने सो समुदायले माग गरेका छन् ।
बुधबार गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईसमक्ष ज्ञापन पत्र बुझाउँदै मुस्लिम अगुवाहरुले अन्तर्राष्ट्रिय नियम, कानून, विधि विधानले खुल्ला गरेको मापदण्ड अनुसार आफ्नै धर्म संस्कार र संस्कृति अनुसार शवको अन्त्येष्टि गर्न पाउनु पर्ने माग गरे ।
‘मुस्लिम समुदायका व्यक्ति यदि कोरोनाका कारण मृत्यू भएमा शव व्यवस्थापन गर्न गोरखा जिल्लाभित्रका निर्धारित कवरस्थानहरुमा सुरक्षाकर्मीको निगरानीमा धार्मिक संस्कार कायम रहने गरी अन्तर्राष्ट्रिय कानून, मूल्य र मान्यता, कार्यविधि, निर्देशिकाले दिएको आफ्नो धार्मिक परम्परा अनुसार शव व्यवस्थापन गर्न पाउने अधिकारलाई सुरक्षित गर्न स्वास्थ्यका मापदण्ड पालना गर्दै सुरक्षा निकायको निगरानीमा शव व्यवस्थापनका लागि वैकल्पिक उपायहरुको अवलम्बन गर्दै गोरखा जिल्लाभित्र सम्बन्धित मृतकको आफन्तको इच्छा र पायक पर्ने ठाउँमा शव व्यवस्थापन गर्न पाउने व्यवस्था मिलाइदिन माग गरिन्छ’, गोरखा नगरपालिका वडा नं. २ का वडाअध्यक्ष रहमतुल्ला मिया नेतृत्वको टोलीले बुझाएको सो ज्ञापन पत्रमा भनिएको छ ।
साथै उनीहरुले गोनपा २ को आहालेभञ्ज्याङको कबरस्थान, गोनपा २ को साबिकको ताप्ले गाविस वडा नं. ३ मा पर्ने रहमतुल्ला मियासमेत छ जनाको नाममा रहेको जमिन, पालुङटार नगरपालिका ३ अन्तर्गत पर्ने डुम्रेडाँडाको कबरस्तान र गण्डकी गाउँपालिका ८ को बाँदरेघाटमा शव व्यवस्थापन गर्न पाउनु पर्ने माग गरेका छन् ।
ज्ञापन पत्र बुझ्दै प्रजिअ भटटराईले उनीहरुको माग सम्बोधन हुने गरी आगामि सिसिएमसीको बैठकमा प्रस्ताब पेश गर्ने आश्वासन दिएका छन् ।




