
भच्चेक जाने सडकमा पहिरो, मर्मतका लागि आजदेखि यातायात नचल्ने
गोरखाको अजिरकोट गाउँपालिका ३ भच्चेकबजार जाने सडक पहिरोले भत्काएपछि आजदेखि सवारी सञ्चालनमा प्रतिबन्ध गरिएको छ ।
पहिरोका कारण साना सवारी साधन पनि जोखिम मोलेर एकतर्फी सञ्चालन गरिरहेकाले यातायात बन्द गरेर मर्मत सुरु गर्न लागिएको हो ।
गोरखास्थित अनुदान ब्यवस्थापन तथा पूर्वाधार बिकास कार्यालय (जिमाली)का प्रमुख रामशरण आचार्यले केहीदिन सवारी साधन भच्चेकबाट आठ किलोमिटर तल नै रोकिने बताए । ‘अहिले एकतर्फी साना सवारी हिँडेका छन्, तर त्यो पनि जोखिम छ, मर्मत गर्दा एकतर्फ पनि सडक चल्न मिल्दैन’ उनले भने ।
गत साता वर्षात सँगै सिरानचोक र अजिरकोट गाउँपालिकाको सिमाना नजिकै सडक भासिएको हो ।
गाडी बन्द हुने बारे यातायात ब्यवशायी समितिलाई जिल्ला प्रशासन कार्यालयले जानकारी गराइसकेको जनाएको छ ।
उक्त सडक नाना कन्ट्रक्सनले कालोपत्रे गर्ने जिम्मा पाएको सडक हो । त्यहाँ काम धमाधम भइरहेको जिमालीका प्रमुख आचार्यले बताए ।





