| आइतवार, कार्तिक २२, २०८३

सामुहिक आइसोलेशन रित्तिदै, होम आइसोलेशन भरिदै

लक्षण नदेखिएका संक्रमितलाई अस्पतालको आइसोलेशनमा नराख्ने नीति अबलम्बन गरेपछि गोरखाका सामुहिक आइसोलेशन रित्तिन थालेको छ ।


बुधबार सामुहिक आइसोलेशनमा जम्मा चारजना मात्र सामुहिक आइसोलेशनमा रहेका अस्पताल हरुले जनाएका छन् । गोरखा अस्पतालको आइसोलेशनमा दुई जना र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रको आइशोलेशनमा दुई जना बाँकी रहेका हुन् ।


गोरखा अस्पतालको आइसोलेशनमा अजीरकोट गाउँपालिकाकी एक महिला र सिरानचोक गाउँपालिकाका एक पुरुष मात्र रहेका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । त्यस्तै आरुघाट गाउँपालिका वडा नं. २ का एकजना र वडा नं. ८ का एकजना आइसोलेशनमा रहेका आरुघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजयकुमार श्रेष्ठले जानकारी दिए ।


गोरखामा होम आइसोलेशनमा बस्नेको संख्या भने उल्लेख्य छन् । बुधबारसम्म होम आइसोलेशनमा बस्नेको संख्या २८ पुगेको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिए ।

‘लक्षण नदेखिएका संक्रमितलाई सम्बन्धित पालिकाले नै व्यवस्थापन गर्ने नीति अनुसार अस्पतालको आइसोलेशनमा बस्नेको संख्या घटेको हो’, गोरखा अस्पतालका सूचना अधिकारी ढकालले भने, ‘अब हामी अस्पतालमा बिरामीको उपचार सेवालाई नै जोड दिन्छौं । लक्षण नदेखिएका कोरोना संक्रमित भर्ना गर्दैनौँ ।’ गोरखा अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन गर्ने तयारी गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्