
चीनले एकतर्फी रुपमा नाका बन्द गर्दा सीमा क्षेत्रमा खाद्यान्न संकटको त्रास
शिव उप्रेती
चीनियाँ सरकारले एकातर्फी बन्द गरेको नाका एकबर्षदेखि नखोल्दा सीमा क्षेत्रका बासिन्दा खाद्यान्न संकट हुनसक्ने त्रासमा छन् । दैनिक उपभोग्य बस्तुको अभाव हुन थालेकाले जनजीवन कष्टकर हुदै गएको चुमनुब्री गाउँपालिकाका चारवटा वडाका बासिन्दा बताउँछन् ।
‘गाउँको उत्पादनले दुईतीन महिनाभन्दा धेरै समयलाई खान पुग्दैन’, सामागाउँका स्थानीय दावा नोर्बु लामा भन्छन्, ‘बाँकी नौ महिनालाई पुग्ने सामान चीनको कोङदाङबाट ल्याउनु पर्छ । तर एकबर्षदेखि नाका खुलेको छैन । अब के खाने भन्ने समस्या भइसक्यो ।’ करु, चामल, नून, तेल, घ्यू, चियापत्ती, चिनी लगायतका दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको उनले बताए ।
चीनियाँ सरकारले सामागाउँको रुइला नाका बर्षमा एकफेर खुलाउने गथ्र्यो भने छेकम्पारको मुलाढाज्यान(ङुइला) नाका बाह्रै महिना खुलाउने गथ्र्यो । तर कोरोनाका कारण देखाएर एकातर्फी रुपमा नाका बन्द गरेको उनले बताए ।
अब एक महिनाभित्र नाका नखुले हिउँ पर्न थाल्ने र आवतजावत गर्न नसकिने अर्की स्थानीय कुन्साङ ढिकी लामा बताउँछिन् । ‘पोहोरसम्म बर्षमा एकफेर नाका खुल्थ्यो । मान्छेहरुले बर्षभरिका लागि सामान ल्याएर थुपार्थे’, उनी भन्छिन्, ‘तर यसबर्ष अहिलेसम्म नाका खुलेन । अब हिउँ पर्न एक महिना पनि बाँकी छैन । हिउँ पर्न थालेपछि नाका खुले पनि जान सकिँदैन । यसबर्ष मान्छेले पो के खाने, घोँडा, झोपा, याक,चौरीलाई पो के खुवाउने ?’ अहिले सरसापट, ऐँचोपैँचो गरेर गुजारा चलिरहेको उनले बताइन् ।
नाका बन्द हुँदा दुख गरेर संकलन गरेको यार्सागुम्बा पनि बिक्री नभएको स्थानीयबासीको गुनासो छ । ‘गाउँलेहरुले पैसाको मुख देख्ने भनेकै पर्यटकबाट र यार्सागुम्बा बेचेर हो’, दावा लामा भन्छन्, ‘तर यसबर्ष नाका नखुल्दा यार्सागुम्बा पनि बेच्न पाइएन । कोरोनाले गर्दा पर्यटन व्यवसाय पनि चलेन । नाका पनि खुलेन । आरुघाट, आर्खेतमा गएर खाद्यान्न किन्न सक्ने क्षमता पनि छैन ।’ केहीदिनअघि खाद्य डिपोको सहुलियतको चामल गाउँमा ल्याउँदा पनि कतिपयले किन्न नसकेको उनले बताए ।
कोरोना र लकडाउनले गर्दा अहिले परिबारको संख्या बढेको तर आम्दानी घटेको स्थानीयको गुनासो छ । ‘इण्डिया, काठमाडौंतिर पढ्न गएकाहरु पनि अहिले घरमा आएका छन् त्यसैले यसबर्ष घरखर्च दोब्बर बढेको छ तर आम्दानी घटेको छ’, दावा लामा भन्छन्, ‘अहिलेसम्म त होटलवालाले सिजनका लागि भनेर जोहो गरेको खाद्यान्नले धानेको छ । अब त्यो पनि सकिएपछि के गर्ने भन्ने चिन्ता छ ।’ नाका खुलाइदिनु पर्ने उनले बताए ।
अन्नबाली केही राम्रो हुने छेकम्पारमा पनि यसबर्ष उत्पादन घटेको वडाअध्यक्ष पासाङफुञ्जो लामा बताउँछन् । ‘आलु, लसुन, प्याज बिग्रियो । फापर र गहुँ पनि घटेको छ’, उनी भन्छन्, ‘यतातिर खाने भनेकै घ्यूचिया हो । नाका बन्द हुँदा धेरै घरमा चिया खान पनि बन्द भइसक्यो । कसैकसैले रोङ्वाले खाने चिया खाएर काम चलाएका छन् ।’ नाकाबन्दले जनजीवन कष्टकर भएको तर चीनको प्रहरीले मान्छे लुकिछिपी आवतजावत गरिरहेको हुनसक्ने भन्दै फोनमा कराइरहने गुनासो गर्छन् ।
तिब्बती नाकामा चुमनुब्री गाउँपालिका वडा नं. १ सामागाउँ, साम्दोका २२५, वडा नं. २ ल्हो, ल्ही, स्योका ३३४, वडा नं. ६ चुम्चेत, चुम्लिङ, सिप्चेतका २७० र वडा नं. ७ छेकम्पारलगायतका नौ वटा टोलका २६५ घरधुरीको बसोबास छ ।
चीन सरकारले नाका नखुलाउँदा खाद्यान्न संकट हुने अबस्था आइरहेको उनीहरुको गुनासो छ ।




