
गोरखामा लामो समयदेखि जारी निषेधाज्ञा अन्त्य
लामो समयदेखि गोरखा सदरमुकाम तथा जिल्लाका बिभिन्न ठाउँमा जारी निषेधाज्ञा बिहिबारदेखि हटाउने निर्णय भएको छ । डिसिसिएमसी तथा कमाण्ड पोष्टको बुधबार सम्पन्न बैकठले गोरखा नगरपालिका र अन्य पालिकामा गरिएको निषेधाज्ञा हाललाई हटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
‘असोज १ गतेदेखि लागु हुने गरी स्वास्थ्य सुरक्षाको मापदण्ड कार्यान्वयन गर्ने गराउने गरी व्यापार, व्यवसाय, यातायात तथा सेवा सञ्चालन गर्ने निर्णय भएको छ’, जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हर्क रोकाले भने, ‘व्युटिपार्लर, सैलुन, जिमखाना, फिल्महल र कबर्डहल बाहेकका पसल, व्यापार व्यवसाय सुचार गर्ने निर्णय भएको छ । सीमा नाका कडाइमा भने निरन्तरता दिने निर्णय भएको छ ।’
त्यसैगरी नीजि रातो प्लेटका सवारी साधनहरु पनि निर्वाध सञ्चालन हुने भएका छन् । सार्वजनिक सवारी साधन भने नेपाल सरकारको निर्णय अनुसार मात्र गर्ने निर्णय भएको सूचना अधिकारी रोकाले जनाए ।
सरकारी तथा गैरसरकारी कार्यालय, वैक वित्तीय संस्थामा हुने कार्यबोझ न्यूनिकरण गर्न समय तालिका मिलाई व्यवस्थापन गर्ने र त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयलाई गराउनु पर्ने निर्णय भएको पनि उनले बताए ।
उद्योग, कलकारखाना पनि आवश्यकता अनुसार सञ्चालन गर्न सकिने निर्णय भएको छ । तर सेवाग्राही तथा सेवाप्रदायकहरुले अनिबार्य रुपमा मास्क लगाउनु पर्ने, भौतिक दुरी कायम गर्नुपर्ने लगायतका मापदण्ड पूरा गर्नुपर्ने निर्णय भएको रोकाले बताए ।




