| मङ्लबार, साउन ११, २०८३

अब बैंक जाँदा कलम अनिवार्य

आईतवारदेखि गोरखामा बैंकहरुले सेवा सुरु गरेका छन् । तपाई बैंकमा सेवा लिन जानुपर्ने छ भने अब कलम लिएर मात्रै जानुहोला । राष्ट्रबैंकले कोभिड १९ नियन्त्रण रोकथामका लागि बैंकलाई सचेत भएर सेवा दिन निर्देशन गरेसँगै कलम पनि ग्राहकलाई ल्याउन भनेको छ ।

बैंकमा राखिएको कलम हरेक सेवाग्राहीले प्रयोग गर्न सक्ने हुँदा कोभिड १९ को खतरा हुने भएकाले ग्राहक आफैँले कलम ल्याउँदा सहज हुने बाणिज्य बैंक गोरखाका प्रबन्धक कपिल कार्कीले बताए । ‘एउटै कलम धेरै जानाले प्रयोग गर्दा भन्दा आफ्नो, आफ्नो कलम प्रयोग गर्दा सुरक्षित भईन्छ’ प्रबन्ध कार्कीले भने । बैंकमा रकम जम्मा गर्दा, भिक्दा, हस्ताक्षर गर्दा जुनसुकै काममा पनि कलम आवश्यक पर्ने भएकाले ग्राहकलाई आफैँ बोकेर जान राष्ट्रबैंकले अनुरोध गरेको हो ।

आफैँले कलम लगेपछि बैंकमा अधिकासं ग्राहकले प्रयोग गरेको कलम प्रयोग गर्नु पर्दैन । सामाजिक दुरी कायम गर्ने, मास्क र सेनिटाईजर अनिवार्य प्रयोग गर्ने, संभव भए औँठा छाप लगाउने स्ट्याम प्याड आफैँ लैजाने हो भने सुरक्षित हुन सकिने बैंकहरुले बताएका छन् । अझै नियमित बैंकको कामकाज गर्नुपर्नेका लागि यो सुरक्षित हुने महत्वपूर्ण उपाए हो ।

एक दर्जन भन्दाबढि बैंक तथा नियमित बित्तिय कारोबार गर्ने संस्था रहेको गोरखामा बैंक खुलेसँगै सेवा लिन जानेहरु बढेका छन् । कारण केही समय यता बैंकले आन्तरिक काम गरेपनि ग्राहकलाई नियमित सेवा दिएका थिएनन् । आईतवार बाणिज्य बैंक गोरखा शाखाबाट तीन सय भन्दाबढीले सेवा लिएको बैंकले जनाएको छ । पेन्सन झिक्नेहरुका कारण सेवा लिनेको उपस्थिती बढेको थियो ।

बैंकलाई आवश्यक सुरक्षाका मापदण्ड अपनाएर सेवा दिन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । प्रशासनको अनुरोध सँगै सेवा सुरु गरेका बैंकले ग्राहकबाट लिएको नोट डिसइन्फेक्ड गर्नुपर्छ । राष्ट्रबैंकको निर्देशन रहेपनि गोरखामा भने त्यो सुविधा बैंकहरुमा छैन । बाणिज्य तथा बिकास बैंकहरुले ग्राहकलाई सेवा दिँदा सुरक्षाका उपाए अपनाउन कन्जुस्याँई गरेको गुनासो बारम्बार आउने गर्छ ।

प्रतिक्रिया दिनुहोस्