
पृथ्वीराजमार्गले असोज एक गतेबाट बस चलाउने
पृथ्वीराजमार्ग बस सञ्चालक प्रालिले असोज १ गतेदेखि बस सेवा सञ्चालन गर्ने भएको छ । लामो समयदेखि बन्द रहेको बस सेवा विश्वकर्मा पूजाको अवसर पारेर सञ्चालन गर्न लागिएको प्रालिका गोरखा सदस्य विपिनचन्द्र ढकालले बताए ।
‘प्रालि केन्द्रको सर्कुलर अनुसार बस सेवा सञ्चालन गर्न लागिएको हो’, उनले भने, ‘आन्तरिक छलफल, परामर्श सम्पन्न भइसकेको छ । आवश्यक पूर्वाधारहरु पनि तयार भइरहेका छन् । स्वास्थ्य तथा सुरक्षाका स्रोत साधन तयार छन् । विधि र प्रक्रियाहरुको बारेमा यातायात मजदुरहरुलाई अभिमुखीकरण गर्ने काम भइरहेको छ । आउँदो २९ गते बैठक गरी अझै विस्तृतमा अभिमुखीकरण हुनेछ ।’
बाह्य छलफल, परामर्श र समन्वय भने नभएको उनले बताए । ‘यसअघि कैयौँपटक छलफल, परामर्श, अनुरोध, आग्रह गरियो तर बिभिन्न बहानाबाजी गरेर सवारी सञ्चालन गर्न सकिएन’, ढकालले भने, ‘अब हामी सरकारलाई जानकारी मात्र गराएर सेवा सञ्चालन गर्छौँ । सरकारले अबरोध गरे पनि भद्र अवज्ञा गरेर भए पनि सार्वजनिक सवारीसाधन सञ्चालनमा ल्याएरै छाड्छौँ ।’
‘हामीहरूले नेपाल सरकारले जारी गरेको कोभिड १९ सार्वजनिक यातायात सञ्चालन कार्यविधि निर्देशिका भित्र रहेर उच्च सुरक्षा र सावधानी अपनाउँदै प्रति २ सिटमा १ जना राखेर सरकारले तोके अनुसार डेढी भाडा लिएर सेवा सञ्चालन गर्छौ । यदि सरकारले अबरोध ग¥यो भने सामना गर्न तयार छौं । गिरफ्तार दिन पर्ने भए पनि गिरफ्तार दिन्छौ ।’ रोगबाट भन्दा भोकबाट मर्ने स्थिति आएकाले गाडी चलाउन बाध्य भएको उनको भनाइ छ ।
‘झन्डै छ महिनादेखि यातायात व्यवसायीहरू आफ्ना सवारी साधनहरू घरमै थन्क्याएर बसेका छन्’, ढकालले भने, ‘तर सरकारले बैङ्क तथा वित्तीय संस्थाको ऋणको बारेमा, दैनिक सवारी चलाएर ज्यान पाल्ने मजदुरको बारेमा र गाडी चलाएर किस्ता तिर्ने तथा घर खर्च चलाउने स्वरोजगार व्यवसायीहरूको बारेमा कुनै पनि राहत प्याकेज घोषणाको तयारी नै गरेन । त्यसैले आफ्नो व्यवसाय सुरु गर्न लागेका हौँ ।’




