| बुधबार, असार ९, २०८३

कोरोना कहर : गोरखाका बिभिन्न पालिकामा पूर्ण तथा आंशिक लकडाउन जारी


कोरोना त्रासका कारण गोरखाका बिभिन्न पालिकाका ग्रामीण बजारहरुमा लकडाउन जारी छ ।

केस पोजेटिभ देखिएका ठाउँहरुमा थप जटिलता उत्पन्न नहोओस भनेर सम्बन्धित पालिका तथा वडाहरुले सूचना जारी गरी टोल तथा वडा बन्द गराएका हुन् ।


गोरखा नगरपालिका र आरुघाट गाउँपालिकामा पालिकाभरि नै लकडाउन जारी छ ।

बाक्लो बजार र सदरमुकामसमेत रहेको गोरखा नगरपालिकाका धेरैजसो वडाहरुमा कोरोना संक्रमण फैलिएकाले लकडाउन गरिएको मेयर राजनराज पन्तले जानकारी दिए ।


पालिकाका दसवटै वडामा लकडाउन जारी रहेको स्वास्थ्य शाखा प्रमुख विजयकुमार श्रेष्ठ बताउँछन् । छिमेकी धादिङका गाउँ तथा टोलहरुमा संक्रमण फैलिएका कारण गाउँपालिकाले लकडाउन गरेको उनले बताए ।


पालुङटार नगरपालिकाको वडा नं. १, २ र १० मा लकडाउन रहेको उपमेयर पम्फा बसेलले जानकारी दिइन् । त्यस्तै अजीरकोट गाउँपालिका ३ भच्चेक बजारमा पनि लकडाउन छ । एकजना संक्रमित रहेकाले भच्चेक बजारमा लकडाउन गरिएको गाउँपालिका प्रमुख फणिन्द्र धितालले बताए ।
त्यस्तै बारपाक सुलीकोट गाउँपालिका वडा नं. ४ र वडा नं. ३ को केही भाग पनि लकडाउन छ ।

गोरखा धारापानीमा संक्रमितका आफन्तहरु रहेकाले सौरपानी, हुँडीखोला लगायतका क्षेत्रमा लकडाउन गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए ।


त्यस्तै शहीद लखन गाउँपालिका वडा नं. २ र ३ मनकामना क्षेत्र पनि लकडाउन छ । गोरखाको मझुवा क्षेत्रको कन्ट्याक ट्रेसिङमा परेकाहरु मनकामना क्षेत्रमा रहेकाले दुईवटा वडामा लकडाउन गरिएको गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले बताए ।
भीमसेन थापा गाउँपालिका वडा नं. ७ बोर्लाङको ठाँटीबजार क्षेत्र र गण्डकी गाउँपालिका वडा नं. ८ घ्याल्चोकमा पनि लकडाउन जारी रहेको पालिकाहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्