
गोरखामा भदौ ३१ गते सम्म निषेधाज्ञा थपिने संकेत
गोरखामा भदौ ३१ गते सम्म निषेधाज्ञा लम्बिने संकेत देखिएको छ । ‘गोरखामा अझै तीन सय ५० भन्दाबढिको पिसिआर रिपोर्ट आउन बाँकी छ’ प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले भने ‘यो महिना भर केही बन्द गरेर त्यसपछि खुकुलो बनाउनुपर्छ कि भन्ने मेरो योजना छ ।’ शुक्रवार जिल्ला स्तरीय कोभिड १९ नियन्त्रण रोकथाम तथा ब्यवस्थापन समिति (सिसिएमसी)को बैठक बसेर निषेधाज्ञा थप्ने वा खुल्ला गर्ने निणर्य हुने उनले बताए ।
गोरखा नगरपालिका वडा नम्बर ७ र १३ मा कोरोना संक्रमित थपिएपछि समुदायमा संक्रमण फैलिएको आशंकामा कन्ट्याक्ट ट्रेसिङ बढाइएको छ । रिपोर्ट आउन बाँकी रहेकाले तत्काल निषेधाज्ञा हटाउँदा संक्रमण फैलन सक्ने खतरा हुने स्वास्थ्यकर्मीले बताएका छन् ।
यता उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्स लगायतका ब्यापारीक संघ संस्थाले भने निषेधाज्ञा हटाएर ब्यापार ब्यवशायी संचालन गर्न पाउनुपर्ने माग गरेका छन् ।
चाडवाड नजिकिँदै गरेकाले ब्यापार ब्यवशाय सञ्चालन गर्न पाउनुपर्ने ब्यवशायीको माग छ । यातायात ब्यवशायीले असोज १ गतेदेखि लामो दुरीको सवारी साधन चलाउने घोषणा गरेका छन् । जिल्ला प्रशासनले भने असोज १ गतेदेखि निषेधाज्ञा हटाउने तर भदौ मसान्त सम्म निषेधाज्ञा कायम राख्ने तयारी गरेको छ ।
अहिले गोरखामा बैंक तथा बित्तिय संस्था, अत्यावश्यक बाहेका पसल, उद्योग, सरकारी कार्यालयको सेवा बन्द छ ।




