
गोरखाका २७ जना कोरोना संक्रमित होम आइशोलेसनमा
गोरखामा होम आइशोलेसन बस्नेको संख्या बढ्न थालेको छ । कोभिड १९ रोकथाम नियन्त्रण र ब्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कोरोना संकट ब्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले होम आइशोलेसन बस्न पाउने निर्णय गरेसँगै यस्तो संख्या बढेको हो ।
‘अहिले नगरपालिका क्षेत्रका २६ जना होम आइसोलेशनमा हुनुहुन्छ’ गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले भने । सिसिएमसीको बैठकले वडा अध्यक्ष, टोल सुधार समिति र संम्बन्धित स्थानीय तहका स्वास्थ्यकर्मीको निर्णयपछि होम आइसोलेशनमा बस्न दिने निर्णय गरको थियो ।
गोनपा ७, ८ र १३ का सहित सरकारी कार्यालयका संक्रमित कर्मचारी गरी २६ जना होम आइशोलेसनमा छन् । गण्डकी गाउँपालिकामा पनि एक जना आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयका सुचना अधिकारी राजुरमण न्यौपानेले बताए ।
आइसोलेशनमा संक्रमितको संख्या बढेसँगै ब्यवस्थापन कमजोर भएको गुनासो संक्रमितहरुको छ । होम आइशोलेसनमा बस्न संक्रमितले प्रयोग गर्ने कोठा र शौचालय छुट्टै भएमा, समुदायका मानिसको सम्पर्क भन्दा टाढा रहेमा बस्न पाउनेछन् ।
‘कतिपय ठाउँमा होम आइसोलेसन बस्नेहरुबाट समस्या भएको गुनासो आएको छ’ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रेग्मीले भने ‘होम आइसोलेशन बस्दा समस्या भयो, जोखिम बढ्ने खतरा भयो भने अस्पतालको आइसोलेसन पठाउँछौँ ।’
नगरपालिका भित्र होम आइसोलेशन बसेका केहीलाई गोरखा क्याम्पसको आइसोलेशनमा लैजाने योजना रहेको उनले बताए ।




