| आइतवार, कार्तिक २२, २०८३

शुक्रवार कोरोना संक्रमण पुष्टि भएका २० जनालाई अझै आइशोलेसनमा राखिएन

शुक्रवार कोरोना संक्रमण पुष्टि भएका गोरखाका २२ जना मध्ये २० जनालाई अझै आइशोलेसनमा लगिएको छैन । गोरखा नगरपालिका ६ का दुई जनालाई शनिवारदेखि होम आइशोलेसनमा राखिएपनि अन्य सबै घरमै छन ।

गोरखा नगरपालिका १३ का १४ जना, ७ का तीन जना, ८ का एक जना शदिलखन र अजिरकोट गाउँपालिकाका एक÷एक गरी २० जना भने आइशोलेसनमा गएका छैनन् । जिल्ला भित्र संक्रमण पुष्टि भएकाहरुलाई गोरखा सदरमुकाममा गोरखा अस्पतालले सञ्चालन गरेको क्वारेन्टिन सहितको आइशोलेसनमा ल्याएर उपचार गर्ने गरिन्थ्यो । तर शुक्रवार संक्रमण पुष्टि भएकाहरु शनिवार सम्म आइशोलेसन नल्याउँदा समुदायमा त्रास बढेको छ ।

आइशोलेसन नआएकाहरुलाई घरैमा पनि आइशोलेसनमा सुरक्षित भए बस्न मिल्ने ब्यवस्था छ । त्यसका लागि वडा अध्यक्ष, टोल सुधार समिति र स्वास्थ्यकर्मीले सिफारिस गर्नुपर्छ । यस्तो निर्णय शनिवार जिल्ला स्तरीय सिसिएमसीको बैठकले गरेको थियो । तर यो निर्णय अनुसार होम आइशोलेसन बस्न दिने सहमती २० जनाको हकमा शनिवार सम्म भएको छैन ।

गोरखा नगरपालिका वडा नम्बर १३ वडा अध्यक्ष हरि खनालले भने १४ जनामा ८ जना एकै घरको भएकाले उनीहरुलाई घरमै आइशोलेसन राख्ने तयारी भएपनि निर्णय भएको छैन । अन्यलाई भने अस्पतालको आइशोलेसनमा लैजाने उनले बताए । ‘आइशोलेसनमा बस्नुपर्नेहरुलाई आइतवार सम्म लैजान्छौँ, आइशोलेसनमा यस अघि बसिरहेकाको पिसिआर गरिसकेकाले सँगै राख्न मिलेन’ गोरखा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले भने ।

गोरखा अस्पतालले संचालन गरेको आइशोलेसनमा छ वटा चर्पी बनिरहेकाले आइतबार नयाँ थपिएका संक्रमितलाई लैजान सकिने अस्पतालका सुचना अधिकारी कृष्ण ढकाल बताउँछन् । ‘संक्रमित थोरै देखिएकाले पहिले शौचालय पुग्ने गरी बनाईएन, अहिले एकैपटक धेरै थपिँदा समस्या भयो, निर्माणको काम अन्तिम चरणमा पुगेको छ’ उनले भने । अहिले आइशोलेसन कक्षमा चार वटा शौचालय मात्रै संक्रमितले प्रयोग गर्ने गरेका छन् । आइशोलेसनमा रहेका एक संक्रमितले पानी, शौचालय, बस्ने, सुत्ने ठाउँ समुहमा प्रयोग गर्नुपर्दा समस्या भएको बताए ।

नगरपालिकाका स्वास्थ्यकर्मी सबैलाई भेटेर आइशोलेसनमा नजाँदा सम्म सुरक्षित भई होम आइशोलेसन बस्न अनुरोध गरेको गोरखा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले बताए । गोरखा क्याम्पसमा संचालित आइशोलेसन यस अघि स्थानीय तहहरुले मिलेर स्थापना गरेका थिए । त्यहाँ पूर्वाधार बिकासका सबै काम नहुँदा अहिले राम्रो सँग ब्यवस्थापन गर्न नसकिएको गुनासो गोरखा अस्पतालको छ ।

 

प्रतिक्रिया दिनुहोस्