
ट्राफिक प्रहरीद्धारा गोरखामा ‘नमस्ते अभियान’ सुरु
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले बिहिवारदेखि गोरखामा नमस्ते अभियान सुरु गरेको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको अभियान अनुसार प्रदेशका सबै जिल्लामा ट्राफिक प्रहरीले यो अभियान सुरु गरेको हो ।
‘हामीले चालकहरु सँग राम्रो ब्यवाहार गर्न, उहाँहरुलाई ट्राफिक प्रहरीले राम्रो ब्यवाहार गर्छ भन्ने अभाष दिलाउन पनि नमस्ते अभियान सुरु गरिएको हो’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मित्रलाल ढकालले भने ।
यस अघि पनि ट्राफिक प्रहरीले चालकहरुलाई चेकजाँचका क्रममा राम्रो ब्यवाहार गर्ने गरेको बताउँदै उनले यो अभियानले चालक र ट्राफिक बिचको सम्बन्ध सुधार हुने बताए ।
‘एक दिन मात्र होईन यो अभियान निरन्तर चलिरहन्छ’ उनले भने । अहिले ट्राफिक प्रहरीले सिटी फुक्दै चालकहरुलाई हकार्ने होईन, नमस्कार गर्दै कागजपत्र माग्छन् । मिठो बोल्छन् । कागजपत्र माग्दा सुरु भएको नमस्कार चेकजाँच पछि बिदाई हुँदा सम्म चलिरहन्छ । ट्राफिक प्रहरीले सडकमा चालकलाई नमस्ते गरेको देखेर गोरखा सदरमुकाममा सर्वसाधारण बिहिवार अनौठो मानेर हेरिरहेका थिए ।




