
एक जना कोरोना संक्रमित भेट्टाउन एक लाख चार हजार खर्च
नेपाल सरकारले कोभिड–१९ का एकजना बिरामी फेला पार्न एक लाख चार हजार रुपैयाँ खर्च हुने जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिड–१९ का एक जना बिरामी फेला पार्न सरकारको एक लाख चार हजार ६३० रुपियाँ खर्च भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ को परीक्षणमा मात्रै हालसम्म नेपाल सरकारले तीन अर्ब १४ करोड ९४ लाख रुपियाँ खर्चेको जानकारी दिए ।
कोभिड–१९ को परीक्षणका लागि स्वास्थ्य मन्त्रालयले पाँच हजार पाँच सय रुपियाँ मूल्य तोकेको छ । निजी अस्पतालमा समेत कोरोनाको परीक्षण भइरहेको छ ।
स्वास्थ्य निर्देशिकाले निजी अस्पतालले कोरोना परीक्षण गर्दा पाँच हजार पाँच सय रुपियाँ शुल्क लिन पाउने व्यवस्था गरेको छ ।




