
गोरखा र आँपपिपल अस्पतालमा रगत जाँच्ने स्तरीय मेसिन
दराैँदी समाचारदाताः गोरखा क्षेत्र नम्बर २ का सांसद एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पहलमा गोरखा अस्पताल र आँपपिपल अस्पताललाई रगत जाँच गर्ने मेसिन उपलब्ध भएको छ । एक चिनियाँ संस्थाको सहयोगमा करिब सात/सात लाख मूल्य पर्ने मेसिन भट्टराईले गृह जिल्लाका दुईवटा अस्पताललाई शुक्रवार एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन ।
उक्त मेसिन अहिले अस्पतालमा भएको भन्दा सुविधा युक्त रहेको र एउटा रगतको नमुनाबाट ३६ वटा परीक्षण एकै पटक गर्न सकिने बायोमेडिकल इन्जिनियर सौगात आचार्यले बताए । कम खर्चिलो र जनशक्ति पनि कम लाग्ने तर सेवा धेरै दिन उक्त मेसिन उपयुक्त हुने उनले बताए ।
४/५ प्रकारका मेसिनले गर्ने काम उक्त मेसिनले एकै पटकमा गर्ने हुँदा जनशक्ति समय र गाउँगाउँबाट आएका सर्व साधारणलाई सेवा दिन सहज हुने अपेक्षा अस्पतालले गरेको छ । अस्पताल बिकास समितिका अध्यक्ष पुरुषोत्तम अर्याललाई पूर्व प्रधानमन्त्री भट्टराईले उक्त मेसिन हस्तान्तरण गरेका हुन । मेसिन लिँदै अस्पताल बिकास समितिका अध्यक्ष अर्यालले सेवा बिस्तारमा बिभिन्न क्षेत्र र ब्यक्तीबाट प्राप्त सहयोगको उपयोग गर्ने गरी अघि बढ्ने बताए ।
प्रतिनिधि सभामा बिजयी भट्टराई त्यसयता हरेक महिना गृहजिल्ला आउने क्रममा यस पटक पनि आएका हुन् । गृहक्षेत्र पुगेका उनले शुक्रवार नै पालुङटार क्षेत्रमा बिकास निर्माणको आयोजनाको अनुगमन समेत गरेका थिए ।




