
यसपालिको तीज एकै परिवार मात्र, घर भित्रै
एकअर्को घरका धेरै जना भेला हुने, नाचगान गर्ने, केहीदिन अघिदेखि जमघट गर्ने, दर खाने जस्ता गतिविधी गरेर तीज मनाउन यो वर्ष नपाईने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले एउटा परिवार भित्र त्यो पनि घरमा मात्रै तीज मनाउन अनुरोध गरेको छ ।
‘बाहिर जमघट हुने, ठुलो साउण्डमा गित बजाएर नाच्ने, वरपर घरका जम्मा हुने गर्न पाईँदैन’ प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले भने ‘संघ संस्था, समुहहरुले तीज गित प्रतियोगिता, कार्यक्रम केही गर्न पाउँदैनन ।’ यस्ता गतिविधी गरेको भेटिएमा संक्रामक रोग ऐन अनुसार कानुनी कारवाही गरिने उनले बताए ।
कोभिड १९ को जोखिम कम नभएकाले मानिस धेरै भेला हुँदा, एकै ठाउँमा खानपान गर्दा सम्पर्क बढ्ने हुँदा प्रशासनले त्यस्ता गतिविधीमा रोक लगाएको जनाएको छ ।
पुजापाठ पनि घरमै गर्न र धेरै मानिस भिडभाड हुने ठाउँमा नजान समेत अनुरोध गरिएको छ । बैठकले जिल्ला भित्रका धार्मिक स्थलमा दैनिक नित्य पुजा बाहेक अन्य गतिविधी प्रतिबन्ध गर्ने समेत गरेको छ ।
गोरखाको प्रसिद्ध धार्मीक स्थल मनकामना र गोरखाली लगायतका धार्मीक पिठहरुमा भक्तजनका लागि निषेश गरिएको छ ।
चाडपर्व आफ्नो परिवार र घर भित्र मात्रै मनाउन समेत प्रशासनले अनुरोध गरेको छ ।




