| आइतवार, कार्तिक २२, २०८३

अब गोरखा अस्पतालमा कोरोना संक्रमित नराखिने

गोरखामा अब संक्रमण पुष्टि भएका सबै कोरोना संक्रमितलाई गोरखा क्याम्पसमा तयार गरिएको क्वारेन्टिन सहितको आइशोलेशनमा राखिने भएको छ ।

शनिवार आइशोलेशनको मर्मत संहार सकेपछि पालुङटारका एक महिला सहित तीन जनालाई ल्याएर उपचार सुरु गरिसकिएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए । गोरखा अस्पताललाई आइशोलेशन ब्यवस्थापनको जिम्मा दिएसँगै त्यहाँबाटै सेवा सुरु हुन लागेको हो ।
कोभिड १९ को संक्रमण पुष्टि भएको तीन दिन सम्म आइशोलेशन तयार नहुँदा पालुङटारका तीन जना संक्रमित क्वारेन्टिनमा बस्दै आएका थिए । गोरखा अस्पताललमा कोभिड १९ को संक्रमण अघि जस्तै सबै स्वास्थ्य सेवा सहज रुपमा दिने उद्देश्यले अब थपिएका संक्रमितलाई गोरखा क्याम्पसको आइशोलेशनमा राख्ने योजना अस्पतालले बनाएको हो ।

‘अस्पतालमा कोरोनाको बिरामी छ भनेर मानिसहरु चेकजाँच गर्न, उपचार र सेवा लिन आउन डराएको हुन सक्छन’ सुचना अधिकारी ढकालले भने ‘डराउन पर्दैन, हामीले जतिसुकै सिकिस्त बिरामी भएपनि गोरखा क्याम्पसको आइशोलेशनबाट सेवा दिनेछाँै ।’ यस अघि उक्त आइशोलेशन जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको संयोजकत्वमा रहेको समितिले संचालन गरेको थियो ।

अहिले गोरखा अस्पतालको आइशोलेशनमा सात जना उपचाररत छन् । उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइनेछ । अहिले भएकाहरु घर गएपछि नयाँ थपिएका संक्रमित भने अस्पताल जाँदैनन । अस्पतालका स्वास्थ्यकर्मी, चिकित्सकको टोलीले उनीहरुलाई गोरखा क्याम्पसको आइशोलेसनबाट सेवा दिने गोरखा अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्