
लक्ष्मीबजारका ५० जनाको कन्ट्याक्ट ट्रेसिङ मार्फत कोरोना परीक्षण
गोरखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीबजारकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएसँगै ५० जनाको कन्ट्याक ट्रेसिङ मार्फत कोरोना परीक्षण गरिएको छ ।
केही दिन अघि पसलको सामग्री खरिद गर्न राजधानी गएका बेला नागढुङ्गामा पिसिआर जाँच गराउँदा ति महिलामा कोरोना पुष्टि भएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
‘कोरोना पुष्टि भएकी महिलालाई मंगलवार बिहानै गोरखा अस्पतालको आईसोलेसनमा पठायौँ’ स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले भने ‘उनको परिवार, आफन्त, नजिक घुलमिल भएका साथीभाई र पसलमा धेरै समय बिताएकालाई चेकजाँच गरेका हौँ ।’
मंगलवार पिसिआर चेकजाँच गरेकाको रिपोर्ट आएपछि थप चेकजाँच अघि बढाउने उनले बताए ।
गोरखा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष कुलबहादुर कुँवरले कोरोनाको जोखिम बढेको भन्दै वडाको काम कारवाही बन्द गरिएको बताए । वडा कार्यालयले सुचना जारी गर्दै घर बाहिर ननिस्कन, अत्यावस्यक काममा निस्कनु परेमा मास्क, सेनिटाईजर प्रयोग गर्न, साबुनपानीले हात धुन समेत वडाबासीलाई अनुरोध गरेको छ ।
थप चेकजाँच गरिएकाको रिपोर्ट नआउँदा सम्म वडा कार्यालयको सेवा बन्द रहने र शर्तकता अपनाउन वडाबासीलाई भनिएको अध्यक्ष कुँवरले बताए ।




