
घ्याम्पेशाल, ताकुकोट सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता
घ्याम्पेशालदेखि ताकुकोटसम्मको सडक कालोपत्रे हुने भएको छ । सो सडक कालोपत्रे गर्नका लागि बिरुवा, वाइबा, लामा जेभी कम्पनीले ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालय लम्जुङले जनाएको छ ।
२५ करोड रुपैयाँ लागतमा ८.५ किलोमिटर सडक कालोपत्रे गर्न एकसाताअघि शुक्रबार सम्झौता भइसकेको कार्यालयका प्रमुख राम पराजुलीले जानकारी दिए । गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने शीर्षकमा गोरखाका दुईवटा पालिकाको केन्द्र जोड्न यसबर्ष बजेट तथा कार्यक्रम परेको छ ।
‘स्थानीय तहको केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने शीर्षक अन्तर्गत सो सडक कालोपत्रे गर्न लागिएको हो’, उनले भने, ‘गण्डकी गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे गर्न पनि कार्यक्रम परेको छ ।’
तर सो गाउँपालिकाको केन्द्र कहाँ रहने भन्ने बारे विवाद टुंगिएको छैन ।
घ्याम्पेशाल ताकुकोट सडक दुईबर्षभित्र कालोपत्रे सम्पन्न गर्नेगरी सम्झौता भएको हो ।
‘अस्फाल्ट कङ्क्रिट’ प्रविधिबाट चौडा सातमिटर फराकिलो हुने गरी कालोपत्रे गरिने पराजुलीले बताए ।




