| आइतवार, कार्तिक २२, २०८३

गोरखाका हजारौं रोपनी खेत बगरमा परिणत

 

तीनदिनदेखिको लगातार बर्षापछि आएको बाढीले गोरखाका हजारौं रोपनी खेत बगरमा परिणत भएको छ ।

धानजोन अन्तर्गतका दरौंदीखोला फाँट, भुसुण्डीखोला फाँट, खारखोला फाँट, ज्यादुलखोला फाँट, चुदीखोला फाँट, चेपेखोला फाँटका हजारौं रोपनी धानखेत बगर बनेको स्थानीय किसानहरुले बताएका छन् ।

‘हाम्रोतिरको हजारौं रोपनी खेत बगर बनिसक्यो’, पालुङ्टार नगरपालिका ९ का वडाअध्यक्ष भेजराज पाण्डेले भने, ‘पोहरसाल नरोपिएका खेतहरु पनि किसानहरुले यसबर्ष रोपेका थिए । तर सबै अजङ्गको बगर बन्यो । अब रोप्ने सम्भावना पनि छैन । यसबर्ष भोकमरी लाग्ला जस्तो भयो ।’ फाँटमा ९० प्रतिशत भन्दा धेरै रोपाइँ सकिएकाले बिउ पनि बाँकी नरहेको उनले बताए ।

गोरखा नगरपालिकाको वडा नं. १०, ११, १२ का फाँटका करिब दुईहजार रोपनी रोपाइँ भएका खेतहरु, पालुङटार नगरपालिकाको वडा नं. १, २, ९, १० का करिब १५०० रोपनी धानखेत, शहीद लखन गाउँपालिकाको वडा नं. २, ६ ९, का करिब १५०० रोपनी रोपाइँ भएका खेतहरु बगरमा परिणत भएको जानकारी आएको कृषि ज्ञानकेन्द्रकी प्रमुख मनिता थापा बताउँछिन् ।

सबै ठाउँको रिपोर्ट नआइसकेकाले अझै धेरै खेतमा लगाइएका धानखेत नष्ट भएको हुन सक्ने उनले बताइन् ।

 

क्याप्सन : बाढीले बगर बनाएको पानपा ९ सेराफाँटको दृष्य
तस्वीर : रश्मि उप्रेती

प्रतिक्रिया दिनुहोस्