
गोरखामा रित्तिदै क्वारेण्टाइन
शिव उप्रेतीः दुईदिनअघि बारपाक सुलीकोट गाउँपालिकाका बिभिन्न क्वारेण्टाइनमा १७० जना थिए । अहिले जम्मा १० जना मात्र रहेको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए ।
भीमसेन थापा गाउँपालिकाका बिभिन्न क्वारेण्टाइनमा दुईहप्ता अघिसम्म १३४ जना थिए तर अहिले ४५ जना मात्र रहेको स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिए ।
यी दुई पालिकामा मात्र होइन, अहिले गोरखाका ११ वटा वटै पालिकाका क्वारेण्टाइन बस्नेहरु ह्वात्तै घटिरहेका छन् । सबैभन्दा दुर्गममा रहेको चुमनुब्री गाउँपालिकाको जगत क्वारेण्टाइनमा अहिले २६ जना मात्र रहेका छन् । कुनैबेला एकैचोटी ३६ जनासम्म बसेको सो क्वारेण्टाइनमा दुईहप्तादेखि २६ जनामात्र बसिरहेका स्वास्थ्य शाखाका कर्मचारी वुद्ध गुरुङ बताउँछन् ।
धार्चे गाउँपालिकाको क्वारेण्टाइनमा भने अहिले कोही पनि नरहेको अध्यक्ष सन्तोष गुरुङ बताउँछन् । त्यस्तै स्वास्थ्य शाखाका कर्मचारी विजयकुमार श्रेष्ठका अनुसार दुईहप्ताअघि ५० जनासम्म बसि रहेको आरुघाट गाउँपालिकाका क्वारेण्टाइनहरुमा अहिले २२ जना मात्र छन् ।
कुनैबेला ५५ जनासम्म बसेको शहीद लखन गाउँपालिकाको क्वारेण्टाइनमा अहिले जम्मा १८ जना छन् । भारतबाट अत्याधिक आउन थालेपछि क्वारेण्टाइन भरिएको तर अहिले भारतबाट आउनेको संख्या घटेको र देशकै बिभिन्न जिल्ला र तेस्रो मुलुकबाट मात्र फाट्टफुट्ट आएका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठको निश्कर्ष छ ।
‘सुरुसुरुमा हाम्रा क्वारेण्टाइनहरुमा ४१ जनासम्म पनि बसेका थिए’, गण्डकी गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख बेलीमाया श्रेष्ठ भन्छिन् ‘अहिले त घटेर जम्मा तीनजना मात्र बाँकी छन् ।’ भारतबाट आउनेको संख्या उल्लेख्य कम भएका कारण क्वारेण्टाइन रित्तिदै गएको उनको भनाइ छ ।
गोरखा नगरपालिकाको क्वारेण्टाइनमा अहिले जम्मा नौ जना मात्र बाँकी छन् । आइतबार एकैदिन २० जना घर फर्किएपछि क्वारेण्टाइनमा चाप कम भएको स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मी बताउँछन् । ‘कुनै बेला हाम्रा क्वारेण्टाइनमा एकैदिन ५४ जना पनि थिए तर अहिले त्यस्तो छैन’, रेग्मी भन्छन्, ‘अहिले त फाट्टफुट्ट मात्र छन् ।’ यसरी क्वारेण्टाइनमा बस्नेको संख्या घट्नु सुखद पक्ष रहेको उनको तर्क छ ।
पालुङ्टार नगरपालिकामा अहिले ३८ जना मात्र क्वारेण्टाइनमा छन् । कुनै बेला ८० जना अटाइ नअटाइ बस्ने गरेको क्वारेण्टाइनमा अहिले अल्लि भार कम भएको स्वास्थ्य शाखाका दीपेन्द्र गिरी बताउँछन् ।
क्वारेण्टाइनमा ५० जना थुप्रिएपछि व्यवस्थापन गर्न सिरानचोक गाउँपालिकालाई हम्मे हम्मे थियो । जसोतसो व्यवस्थापन गरेपछि अहिले जम्मा १६ जना मात्र बाँकी रहेको स्वास्थ्य शाखाका रामचन्द्र पाण्डे बताउँछन् । अजीरकोट गाउँपालिकामा पनि अहिले क्वारेण्टाइनमा जम्मा नौ जना मात्र बाँकी रहेको स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार अहिले गोरखाका बिभिन्न पालिकामा गरी ८६ वटा क्वारेण्टाइन स्थल छन् । जसमा १०४९ बेड रहेका छन् । बिभिन्न समयमा गरी एकहजार दुईसय ६७ जना क्वारेण्टाइनमा रहेकामध्य नौसय ९९ जना फिर्ता गरी अहिले जम्मा दुईसय ६८ जना मात्र बाँकी रहेको कार्यालयले जनाएको छ । त्यस्तै एकसय ३० बेड क्षमताको आइसोलेशन रहेको गोरखामा अहिलेसम्म ६१ जना भर्ना भएकामा ३१ जना निको भई फिर्ता भई हाल ३० जना मात्र उपचार गराइरहेका छन् ।




