
रिठ्ठेपानी, मोहोरिया र महादेवटारलाई कोरोना संक्रमित क्षेत्र घोषणा
दरौँदी समाचारदाताः भीमसेनथापा गाउँपालिकाका तीन ठाउँलाई कोरोना संक्रमित क्षेत्र घोषणा गरिएको छ । आइतबार सम्पन्न जिल्ला कमाण्डपोष्टको बैठकले समुदायमा नै कोरोना फैलिएका भीमसेनथापा गाउँपालिका वडा नं. ५ रिठ्ठेपानी, वडा नं. ६ मोहोरिया र वडा नं. ८ महादेवटारलाई कोरोना संक्रमित क्षेत्र घोषणा गरेको हो ।
कोरोना संक्रमण फैलनबाट जोगाउन कमाण्डपोष्टको बैठकले संक्रमित क्षेत्र, मध्यवर्ती क्षेत्र घोषणा गरेर बिभिन्न नीति, नियमहरु लागु गरेको छ । बैठकले रिठ्ठेपानीलाई केन्द्र मानेर तान्द्राङखोला, लामाचौर, मान्द्रेढुंगा र बगरेखोला क्षेत्रभित्रलाई संक्रमित क्षेत्र घोषणा गरी बाहिरि सम्पर्कबाट बिच्छेद गराउने निणर्य गरेको कमाण्डपोष्टले जनाएको छ ।
त्यस्तै मोहोरियालाई केन्द्र बनाएर वडा नं. ७ को सीमाभित्र, भन्तनागाउँ, भलायखर्क भैँसेगौडा, एक्लेबर, ज्यादुलखोलाभित्रको क्षेत्रलाई पनि संक्रमित क्षेत्र घोषणा गरी बाहिरि सम्पर्कबाट बिच्छेद गर्ने निणर्य गरेको सूचना अधिकारी हर्क रोकाले जानकारी दिए ।
त्यस्तै महादेवकाटार केन्द्र बनाएर घाटबेशी, पिपलटार, ऐरिभञ्ज्याङ, पिपलटारभित्रको ठाउँलाई पनि संक्रमित क्षेत्र घोषण गरिएको छ । जिल्लाकै सबैभन्दा धेरै कोरोना संक्रमण ती ठाउँहरुमा देखिएका थिए । ‘बैठकले संक्रमित ठाउँहरुलाई आवश्यकता हेरी अत्यावश्यक बाहेकका सबै सेवा तथा गतिविधि निषेध गर्ने पनि निणर्य गरेको छ’, जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हर्क रोकाले भने, ‘आवश्यकताका आधारमा कन्ट्याक टूेसिङको दायरा बढाउने पनि निणर्य गरेको छ । त्यस्तै प्रत्येक ठाउँठाउँ र घरघरको सूचना निगरानी बढाउने पनि निणर्य भएको छ ।’ ती तीन ठाउँबाहेकका गाउँपालिकाका अन्य क्षेत्रलाई बफरजोन घोषणा गर्ने निणर्य गरेको उनले बताए ।




