| आइतवार, कार्तिक २२, २०८३

संक्रमित बढेपछि गोरखा सबै स्थानीय तहमा आइसोलेसन बनाउने तयारी

आषिश कुमार भट्ट : कोरोना संक्रमितको संख्या बढ्न थालेपछि गोरखाका सबै स्थानीय तहमा आइसोलेसन निर्माण गर्ने निणर्य भएको छ । कोरोना भाईरस रोकथाम नियन्त्रण र ब्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टको शुक्रवार बसेको बैठकले हरेक स्थानीय तहलाई १० बेडको आइसोलेसन निर्माण गर्न अनुरोध गर्ने निणर्य गरेको हो ।

गोरखाका ११ वटै स्थानीय तह मिलेर गोरखा क्याम्पसमा एक सय बेड क्षमताको आइसोलेसन निर्माण गर्ने योजना बनाएपनि ७४ बेड मात्र निर्माण गर्न संभव भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस अघि आरुघाट, मकैसिंङ, जौवारी प्राथमिक स्वास्थ्य केन्द्र र आँपपिपल अस्पतालमा १०/१० बेडको आइसोलेसन बनाउने निणर्य भएपनि मकैसिंङमा मात्रै निर्माण पुरा भएको छ । जौवारीमा निर्माण भईरहेको र अन्यत्र आइसोलेसन निर्माण प्रक्रिया अघि नबढेकाले तत्काल निर्माण सुरु गर्न अनुरोध गर्ने निणर्य बैठकले गरेको हो । पिसिआर चेकजाँच गर्दा बिरामीको सख्ंया बढ्न थालेपछि उत्पन्न हुन सक्ने ठाउँ अभावलाई मध्येनजर गर्दै बैठकले सबै स्थानीय तहलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निग्रानीमा कोरोना भाईरस नलागेका बिरामीलाई पनि सेवा दिन मिल्ने गरी आइसोलेसन निर्माण गर्न अनुरोध गरेको हो ।

बैठकले भिमसेन थापा गाउँपालिका को वडा नम्बर ५, ६ र ८ मा जिल्ला सुरुक्षा समितिको निणर्य अनुसार निग्रानी बढाउने निणर्य गरेको छ । गाउँपालिकाले उक्त क्षेत्र यस अघि नै पूणर् रुपमा सिल गरेको छ । ति ठाउँमा कोरोनाको संक्रमण समुदायमा फैलिएको आशंकापछि पालिका सिल गरिएको अध्यक्ष इश्वर पाण्डेले बताए ।

कमाण्ड पोष्टको बैठकले स्थानीय तहलाई स्वास्थ्य सामग्रीको जोहो गरिराख्न समेत अनुरोध गर्ने निणर्य गरेको छ । क्वारेन्टिन र आइसोलेसनमा रहेका गर्भवतीहरुको विषेश ख्याल गर्ने, आधारभुत सामग्री, सुद्ध पिउनेपानीको ब्यवस्था गर्ने निणर्य बैठकले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्