
पालुङ्टार नगरपालिकाद्वारा रु ८० करोड ४६ लाखको बजेट नीति तथा कार्यक्रम पारित
आउँदो आर्थिक बर्षका लागि पालुङटार नगरपालिकाले तयार गरेको ८० करोड ४६ लाख ५० हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम बुधबार सम्पन्न सातौँ नगरसभाले पास गरेको छ ।
नगरप्रमुख दीपकबाबु कँडेलद्वारा प्रस्तुत सो बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पास भएको हो ।
नीति तथा कार्यक्रममा नगरपालिकाभित्र जन्मिएका बालबालिकाहरुलाई नगरपालिकाले दुईहजार रुपैयाँ राखी खाता खोलिदिने कार्यक्रम सञ्चालन गर्ने, गर्भ जाँच गराउन आउने महिलाहरुलाई ‘सुत्केरी झोला’ दिने र नियमित गर्भ जाँच गर्नेलाई सुत्केरी भत्तामा पाँचसय रुपिया थप गर्ने उल्लेख छ । त्यस्तै ‘दुई रुपियाँ राष्ट्रको लागि, मेरोलागि सदाकालागि’ भन्ने मूल नाराका साथ यूवा लक्षित कार्यक्रम अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
कार्यक्रममा नगर उपप्रमुख एवं नगरसभा सदस्य तथा राजस्व तथा न्यायिक समिति संयोजक पम्फा बसेलले आउँदो आर्थिक वर्षमा बिभिन्न शीर्षकमा संकलन हुने अनुमानित राजस्व प्रस्तुत गरेकी थिइन् । बुधबारको सभाले नगरपालिकाकी उपप्रमुखले प्रस्तुत गरेको आर्थिक र विनियोजन विधयेक पारित गरेको छ ।




