
सदरमुकामबाहिर पहिलो पटक मकैसिङमा आइसोलेसन तयार
दरौँदी समाचारदाताः सदरमुकामभन्दा बाहिर पहिलो पटक गण्डकी गाउँपालिकामा आइसोलेशन तयार भएको छ । गण्डकी गाउँपालिका १ मकैसिङ प्राथमिक स्वास्थ्यकेन्द्रमा १० वेडको आइसोलेसन तयार भएको हो । मंगलवार कोरोना संक्रमण पुष्टि भएका चारजनालाई गाउँपालिकाको मकैसिंङ प्राथमिक स्वास्थ्य केन्द्रमा तयार गरिएको आइसोलेसनमा राख्ने गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले बताए । ‘बर्खाको बेला थियो, ग्रामीण सडक भएकाले आइसोलेसनको सामग्री ढुवानी गर्न अझै केही समय लाग्यो’, अध्यक्ष प्रमुखले भने, ‘हामीले स्वास्थ्य केन्द्रमा भएको पूर्वाधारलाई ब्यवस्थित गरेर आइसोलेसन तयार गरेका छौँ ।’ यसअघि गाउँपालिकाभित्र संक्रमण पुष्टि भएकालाई गोरखा अस्पताल र गोरखा क्याम्पसको आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।
‘अब १० जना सम्म हामी प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राख्न सक्छौँ’ अध्यक्ष रानाले भने । प्राथमिक स्वास्थ्य केन्द्रबाट दिइने अन्य सेवा प्रभावित नहुने गरी आइसोलेसन ब्यवस्थित गरिएको छ । गाउँपालिकाको अन्य संस्थाका स्वास्थ्यकर्मीलाई आइसोलेसन ब्यवस्थापन, उपचारका लागि झिकाउने उनले बताए । जेठ २६ गते गोरखा सदरमुकाममा सम्पन्न पालिका प्रमुख, जिल्लाका सुरक्षा प्रमुख सहितको बैठकले १६५ बेड क्षमताको आईसोलेसन निर्माण गर्ने निणर्य गरेको थियो । जसमध्ये गोरखा अस्पतालमा २५ वेड सबैभन्दा पहिले तयार भएको थियो । अस्पतालको आइसोलेसनबाट संक्रमितले सेवा लिइरहेका छन् ।
नगरपालिका क्षेत्र भित्र गोरखा क्याम्पसमा ७० बेड बाहेक अन्यत्र आइसोलेसन बन्न सकेको छैन । नगरपालिका भित्र ३० बेड तयार हुन बाँकी छ भने आरुघाट प्राथमिक स्वास्थ्य केन्द्र, सिरानचोक गाउँपालिकाको जौवारी प्राथमिक स्वास्थ्य केन्द्रमा १०/१० वेड तयार हुन बाँकी छ । पालुङटार नगरपालिकाको आँपपिपल अस्पतालमा १० वेडको आइसोलेसन बनाउने निणर्य भएपछि तयार भएको छैन ।




