
चार दिनमा ७० बेड आइसोलेसन तयार,६ जना संक्रमित आइपुगे १० जना अझै क्वारेन्टिनमा
दरौँदी समाचारदाताः भारतबाट आएर क्वारेन्टिनमा रहेकाहरुमा पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आउने क्रम बढेपछि गोरखामा चार दिनमा ७० बेड क्षमताको आइसोलेसन तयार गरिएको छ । ११ वटै स्थानीय सरकार मिलेर गोरखा क्याम्पसमा आइसोलेसन वेड तयार गरेका हुन् ।
आइसोलेसन तयार भईसकेपनि क्वारेन्टिनमा रहेका शहिद लखन गाउँपालिकाका चार र पालुङटार नगरपालिकाका दुई जना मात्रै शनिवार सदरमुकामको आइसोलेसनमा आईपुगेका छन् । उनीहरुलाई गोरखा क्याम्प्सको आइसोलेसनमा राखिएको छ । कोरोना संक्रमण पुष्टि भएका भिमसेन थापा गाउँपालिकाका पाँच, पालुङटार नगरपालिकाका पाँच जना भने क्वारेन्टिनमा रहेका छन् । ‘आईतवार बेलुकी सम्म आइसोलेसनमा पु¥याउने तयारी गरेका छौँ’ भिमसेन थापा गाउँपालिकाका स्वास्थ्य संयोजक भेषराज खनालले भने ।
संक्रमण पुष्टि भएका सात जना मध्ये दुई जनालाई शनिवार आइसोलेसनमा लगिएको र बाँकी पाँच जनालाई आईतवार लैजान तयारी भएको पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेलले बताए । शहिद लखन गाउँपालिकाका चार जनालाई भने राती अवेर आइसोलेसनमा ल्याइएको थियो । गोरखा अस्पतालको आईसोलेसन खाली नहुँदा र नयाँ निर्माण पुरा नहुँदा पिसिआर रिपोर्ट पोजेटिभ आएको तीन दिन देखि संक्रमित क्वारेन्टिनमा छन् ।
जिल्ला समन्वय समितिका प्रमुख एवं आइसोलेसन कोष ब्यवस्थापन समितिका संयोजक अशोककुमार गुरुङले भने ‘एकाएक संक्रमितको संख्या बढ्न थालेपछि हामीले आइसोलेसन निर्माण गरेका हौँ, सक्दो छिटो गर्ने प्रयास थियो, केही दिन लाग्यो ।’ प्राविधिक स्टमेट सकिएको दिनबाटै सबै काम सुरु गरेकाले छिटो सकिएको उनले बताए । सिसिटिभी, कार्पेटिङ, वेड, शौचालय लगायत सबै नयाँ निर्माण गरिएको हो । औषधी र स्वास्थ्य सामग्री सहित आइसोलेसन निर्माणमा ११ वटै गाउँपालिकाले पाँच÷पाँच लाख रुपैयाँ समितिको खातामा जम्मा गर्ने र उक्त रकमबाट आइसोलेसन ब्यवस्थापन गर्ने निर्णय भएको थियो ।
‘प्राविधिक कारणले केही समय लागेको हो, निर्माण सुरु भएको चार दिनमा हामीले तयार गरिसक्यो, शनिवार बेलुकी देखि पोजेटिभ रिपोर्ट आएकालाई ल्याएर राख्न सक्ने ब्यवस्था भएको छ’ समितिका सदस्य एवं गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने ।
आइसोलेसनमा ल्याएपछि उनीहरुको हेरचाहमा संम्बन्धित स्थानीय तहका स्वास्थ्यकर्मी सहित गोरखा अस्पतालका चिकित्सक, स्वास्थ्य कार्यालयको पनि निग्रानी रहने छ । आइसोलेसन निर्माणमा नेपाली सेनाको रणसिंह दल गणले सहयोग गरेको थियो ।




