
आइसोलेसन तयार भएन, कोरोना संक्रमित क्वारेन्टिनमै
गोरखामा बिहिबार थपिएका कोरोना संक्रमितलाई क्वारेण्टाइनमै राखिने भएको छ । यसअघिका संक्रमितलाई आइसोलेशनमा राखे पनि बिहिबार थपिएका पालुंटार र शहीद लखन गाउँपालिकाका संक्रमितलाई यसअघि बसिरहेको क्वारेण्टिनमै राखिएको हो ।
गोरखा अस्पतालको आइसोलेशन भरिएको र गोरखा अस्पतालमा लक्ष्य अनुसारको आइसोलेशन बेड तयार नभएकाले संक्रमितलाई क्वारेण्टिनमै राखिएको आइसोलेशन एवं कोष व्यवस्थापन समितिका संयोजक अशोक गुरुङले जानकारी दिए ।
‘हामीले गोरखा क्याम्पसमा एक सय बेड क्षमताको आइसोलेसन निर्माण गर्न लागेका हौँ, २५ बेड तयार भईसकेको थियो, अरु बेड तयार गर्न कामदारलाई समस्या हुने भएपछि बिहिवार कोरोना पुष्टि भएकाहरुलाई ल्याउन सकिएन’ जिल्ला समन्वय समितिका प्रमुख एवं आइसोलेसन एवं कोष ब्यवस्थापन समितिका संयोजक अशोक कुमार गुरुङले भने ।
आइसोलेसन निर्माणका क्रममा काम गरिरहेका मजदुरहरु संक्रमित लगेर राखेपछि थप काम गर्न कामदारहरु डराएका कारण बिहिवार आइसोलेसनमा राख्न नसकेकाहरुलाई गाउँपालिकाको क्वारेन्टिनमा ब्यवस्थित रुपमा राख्न अनुरोध गरिएको उनले बताए । यस अघि गोरखा अस्पतालमा रहेको आईसोलेसनको २४ बेडमा बिरामी भरिएपछि हतार हतार थपिएकाहरुलाई गोरखा क्याम्पसमा निर्माण गरिएको आइसोलेसनमा राख्ने तयारी थियो ।
बिहिवार पालुङटार नगरपालिकाका ७ जना, शहिदलखन गाउँपालिकाका ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । भारतबाट आएर स्थानीय तहको क्वारेन्टिनमा बसेकाहरुमा कोरोना देखिने क्रम बढेसँगै आइसोलेसन निर्माणले गति लिएको छ ।
नेपालमा कोरोनाको संक्रमण सुरु भएको तीन महिना भइसकेपछि गोरखामा भने बुधबारदेखि थप आईसोलेसन निर्माणको काम सुरु भएको हो ।
सिसि क्यामेरा जडान, क्याम्पसको कक्षाकोठामा कार्पेट बिछ्याउने, विद्युत, पानीको ब्यवस्थापन, बेड लगायत आवश्यक सामग्री जुटाउने काम धमाधम भईरहेको समितिका सदस्य एवं गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले बताए ।
‘प्राविधिक स्टमेट आएपछि हामीले सबै कामको जिम्मा लगाईसकेका छौँ, धेरै समय लाग्दैन, धमाधम भईरहेको छ ।’ यस अघि कोरोना संक्रमण पुष्टि भएकालाई पिसिआर रिपोर्ट पोजेटिभ आएकै दिन गोरखा अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।
यसैबिच गोरखा क्याम्पसको आइसोलेसनका लागी हरेक पालिका बाट २ २ जना स्वास्थ्यका कर्मचारी खटाईने भएको छ । बिहिबार बसेको जिल्ला कमान्ड पोष्टले प्रत्येक पालिकासँग नर्सिङ र पारामेडिक्स कर्मचारी माग गर्ने निणर्य गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हर्क रोकाले जानकारी दिए ।




