| आइतवार, कार्तिक २२, २०८३

एम्बुलेन्स चालकको गुनासोः घरबेटीले छिर्न दिदैनन्, छिमेकीले छिछिदुरदुर गर्छन्

शिव उप्रेतीः एम्बुलेन्स चालक हरिशरण गोदारले गत जेठ २७ गते गण्डकी गाउँपालिकाका पाँच जना कोरोना संक्रमितलाई गोरखा अस्पतालको आइसोलेशनमा ल्याए । संक्रमित ल्याएपछि प्रहरी र चिकित्सकले होम क्वारेण्टाइनमा बस्न आग्रह गरे ।

गरिखाने गाडी पनि थन्क्याए र उनी घरभित्रै दसदिन थन्किएर बसे । दैनिक ज्यालादारीमा काम गर्ने उनी दस दिनसम्म थन्किएर बस्नुपर्दा हातमुख जोर्न समस्या भएको गुनासो गर्छन् । ‘हामी त दैनिक ज्यालादारी गर्ने मजदुर हौं । एकफेर संक्रमित बोकेपछि यसरी घरभित्रै दुईहप्तासम्म थन्किएर बस्दा आफ्नो हातमुख कसरी जोर्ने, परिबार कसरी पाल्ने ?’, उनी गुनासो गर्छन्, ‘हामी गरिखानेलाई घोक्रेठ्याक लाएर संक्रमित बोक्न लगाउने अनि दुईहप्तासम्म घरभित्रै थुनेर राख्न पाइँदैन । संक्रमित बोक्ने एम्बुलेन्सको बिषयमा छिटो भन्दा छिटो एउटा थिति बसाल्नु पर्छ ।’

संक्रमित बोकेर साँझ डेरामा जाँदा घरबेटीले छिर्न नदिने र छरछिमेकले पनि छिछिदुरदुर गर्ने गरेको उनले दुख ब्यक्त गरे । ‘आफ्नै ज्यूज्यान जोखिममा राखेर संक्रमितलाई बोकेर साँझ घर जाँदा घरबेटीको गनगन सुन्नुपर्छ । छिमेकीले पनि हामीलाई मात्र होइन परिबारलाई समेत छिछिदुरदुर गर्छन्’, उनी भन्छन्, ‘कि हामीलाई पनि खाने बस्ने व्यवस्था गरेर सरकारले क्वारेण्टाइनमा राख्नुपर्छ । चाँडै पिसिआर गरेर काममा फर्कने व्यवस्था गर्नुपर्छ ।’ आफ्नो समस्या जिल्लाको सरकारसँग राख्न नपाएको दुखेसो उनले पोखे ।

सबै पालिकाहरुले समन्वय गरेर संक्रमितहरुलाई मात्र बोक्ने गरी केही निश्चित एम्बुलेन्सलाई स्ट्याण्डबाई राख्नुपर्नेमा उनले माग गरे ।
एम्बुलेन्स चालकले अमानवीय व्यवहार सहनु परेको अर्का चालक कमल गोर्खालीको गुनासो छ । ‘ज्यान जोखिममा राखेर कुदिरहेका हुन्छौं । बाटोमा भोक लाग्छ, तिर्खा लाग्छ । केही किनेर खानुप¥यो भनेर पसलतिर गयो भने साहुजीहरु ढोका लगाएर भित्र जान्छन् । खाजा त परको कुरा पानी पनि किनेर खान पाइँदैन’, उनी भन्छन्, ‘स्वाब लिएर काठमाडौं, पोखरा जाँदा पनि खाना, खाजाको व्यवस्था हुदैन । आफैले घरबाट झोलामा हालेर लगेको छ भने खान पाइयो, नत्र पाइँदैन ।’

सरकारले एम्बुलेन्स चालकलाई पिपिई लगाउन, खोल्न समेत नसिकाएको उनको गुनासो छ । ‘हामीहरुसँग गुणस्तरीय पिपिई पनि छैन । भएको लोकल पिपिई लगाउन पनि जान्दैनौं, खोल्न पनि जान्दैनौं’, उनी भन्छन्, ‘कोहीकोहीले पिपिई खोलेर सिटमुनि कोचेका हुन्छन् ।’
संक्रमित बोकेपछि अन्य विरामीहरुले आफ्नो एम्बुलेन्स नचढ्ने गरेको, ग्यारेजमा मर्मतसम्भार पनि नगर्ने गरेको उनले गुनासो गरे । ‘हामी त बिरामी बोकेर कमाएको पैसाले घरव्यवहार चलाउने हो’, उनी भन्छन्, ‘तर संक्रमित बोकेपछि बिरामी हाम्रो एम्बुलेन्स चढ्दैनन् । ग्यारेजमा लग्यो भने छुन पनि मान्दैनन् । हामीसंग धेरै समस्याहरु छन् । सरकारले सुनिदिनुपर्छ ।’ सरकारी सहुलियतमा ल्याएको एम्बुलेन्स भएकाले काम गर्न आफूहरु तयार रहेको भन्दै उनले व्यवहारिक समस्याहरु सल्टाउन सरकारले थिति बसाल्नु पर्ने तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्