
पिसिआर जाँचको दायरा बढाउन र रिपोर्ट समयमै उपलब्ध गराउन कांग्रेसको माग
नेपाली कांग्रेस जिल्ला कार्य समिति गोरखाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै पिसिआरको दायर बढाउन माग गरेको छ । जिल्ला सभापति हरिबहादुर घलेको नेतृत्वमा मंगलवार जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रजिअ सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाउँदै पिसिआर रिपोर्ट समयमै नआउँदा सर्वसाधारणमा अन्यौल र त्रास बढेको जनाएको छ ।
गोरखाको बिभिन्न पालिकामा क्वारेन्टिनमा बसेकाहरुको पिसिआर रिपोर्ट १० दिन सम्म आएको छैन । भारत लगायत अन्य जिल्लाबाट आएकाहरु तीन सातादेखि क्वारेन्टिनमा रिपोर्ट कुरेर बसिरहेको भन्दै कांग्रेसले छिटो रिपोर्ट आउने ब्यवस्था गर्न माग गरेको सभापति हरिबहादुर घलेले बताए ।
कोरोना त्रास र प्रभावले उद्योग ब्यापार ब्यवशायमा ठुलो असर पुगेकाले आर्थिक क्षेत्रको सुधारकालागि श्रमिक र मजदुरलाई ठोस राहत प्याकेज घोषणा गर्न मा गरिएको छ । लकडाउनका कारण कृषकले भोग्नुपरेको समस्या, बिउ बिजन, मल सहज उपलब्ध गराउन र कृषि उत्पादन बिक्री गर्ने बातावरण बनाउन माग गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम, राष्ट्रपति शिक्षा, संसद कोष हटाएर कोभिड १९ को प्रभावले रोजगारी गुमाएकाहरुलाई स्थानीय स्तरमा रोजगारी सिर्जना हुने कार्यक्रम ल्याउन कांग्रेसले सरकार सँग माग गरेको छ । राहत बितरणलाई प्रभावकारी बनाउन र आवस्य परेकाहरुलाई बितरण गर्न, कोरोना उपचार गर्ने अस्पतालको ब्यवस्थापनमा ध्यान दिन, पारदर्शिता कायम राख्न ज्ञापन पत्र मार्फत माग गरिएको छ ।
क्वारेन्टिनलाई ब्यवस्थित गर्न, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अंग्रपंक्तिमा रहेर काम गरिरहेकाहरुको सुरक्षामा विषेश ध्यान दिन ज्ञापन पत्रमा भनिएको छ । साथै गोरखामा हरेक दिन कोरोनाको अवस्था बारे आधिकारीक रिपोर्ट सार्वजनीक गर्ने ब्यवस्था मिलाउन पनि भनिएको छ । कोरोना प्रभाव रहिरहेका बेला बर्खा लागेसँगै आउन सक्ने बाढी पहिरो र त्यसबाट हुने बिपत्तीलाई मध्येनजर गर्दै विषेश सुरक्षा नीति अबलम्बन गर्न पनि ज्ञापन पत्र मार्फत माग गरिएको छ । ज्ञापन पत्र बुझेपछि प्रजिअ पौडेलले तत्काल प्रधानमन्त्री कार्यालयमा पठाईदिने आश्वासन दिएका थिए ।




