| आइतवार, कार्तिक २२, २०८३

गोरखा अस्पतालका आईसोलेसन बसेका बिरामीमा कुनै लक्षण छैन, अस्पताल आउन नडराउन सर्वसाधारणलाई आग्रह

नरहरी सापकोटाः  गण्डकी गाउँपालिकामा क्वारेन्टिनमा बसेका १० जनामा पिसिआर जाँच गर्दा पोजेटिभ देखिएपछि एक सातादेखि गोरखा अस्पतालको आईसोलेसनमा छन् । भिमसेन थापा गाउँपालिकाका चार जनाको रिपोर्ट पनि पोजेटिभ देखिएपछि उनीहरु चार दिनदेखि सोही आईसोलेशनमा छन् । एक महिला र १३ जना पुरुष आइसोलेशनमा गोरखा अस्पतालका चिकित्सकको निगरानीमा छन् ।
आईसोलेशनमा बसेका सबैको स्वास्थ्य अवस्था समान्य रहेको गोरखा अस्पतालले जनाएको छ । ‘एक जनाको पनि स्वास्थ्य अवस्था कमजोर छैन’ अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले भने ‘चार चार घण्टामा जाँच गरिरहेका छौँ ।’ ज्वारो, ब्लड प्रेसर नियमित जाँच गरिएको छ । आईसोलेसनमा बस्नेहरु क्वारेन्टिनमा बस्दा भन्दा सहज र सुविधा मिलेको भन्दै खुसी छन् । ‘उनीहरुको आत्माबल बढाउन हामीले सिसिटिभी मार्फत निगरानी गरिरहेका छौँ, भिडियो कल गरेर सोधखोज गरिरहेका छौँ’ सुचना अधिकारी ढकालले भने । त्यहाँ निशुल्क वाईफाईको ब्यवस्था पनि गरिएको छ ।

बिहान उठ्ने ब्यायम गर्ने, चिया नास्ता खाने, नुवाईधुवाई गर्ने, ११ बजे खाना खाने, दिउँसो खाजा खाने साँझ ब्यायम गर्ने, नाचगान गर्ने गरेर आईशोलेसनमा बसेका १४ जनाले समय कटाईरहेका छन् । ‘अहिले सम्म कुनै समस्या छैन, स्वास्थ्यमा पनि कुनै समस्या देखिएको छैन, आरामदायी रुपमा बसिरहेका छौँ’ आईशोलेसनमा रहेका एक युवाले सामाजिक सञ्जालमा लाईभ गर्दै आफ्नो कुरा भनेका छन् ।
आईसोलेसन कक्षमा सिसि क्यामेरा जडान गरिएको छ । स्वास्थ्यकर्मीले कन्टूोल रुमबाट त्यहाँ रहेकाहरुको निगरानी गर्छन । कुनै ब्यक्ति एक्लो बस्ने, टोलाउने, धेरै सुत्ने, झोक्राउने गरेको देखिएमा टोलीनेता मार्फत फोन गरेर सोधखोज गर्ने गरिएको सुचना अधिकारी ढकालले बताए । कतिपयलाई भिडियो कल मार्फत पनि स्वास्थ्यकर्मीले स्वास्थ्य अवस्था सोध्ने गर्छन् ।

१४ जनाको पिसिआर पुन परीक्षणकालागि अस्पतालले प्रयोगशाला पठाएको छ । बिहिबार र शुक्रबार गरी दुई चरणमा उनीहरुको पिसिआर संकलन गरी पठाइएको हो । ती सहित अस्पतालबाट पठाएका ४८ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छन् । र्
शोलेसनमा बसेकाहरुको पिसिआर नेगेटिभ आएको खण्डमा त्यहाँ बसेको १४ दिन पछि उनीहरु घर जान पाउनेछन् । पोजेटिभ देखिएकाहरुको हक भने पुन अर्को पटक पनि जाँचकालागि पठाउने अस्पतालले जनाएको छ । ‘रिपोर्ट पोजेटिभ आउँदा सम्म आईशोलेसनमा राखेर उपचा गरिन्छ’ सुचना अधिकारी ढकालले भने । ‘आईशोलेसनमा बसेकाहरुले चिकित्सकले भनेको मान्ने हुँदा निगरानी गर्न सहज भएको उनले बताए । नियमित निगरानीका लागि अस्पतालले दुई जना स्वास्थ्यकर्मी खटाउने गरेको छ ।
गोरखा अस्पतालमा २४ वटा आईशोलेसन वेड रहेको अस्पतालले जनाएको छ । १० वटा अझै खाली छ । आईतबारदेखि नसर्ने रोगका बिरामीलाई पनि सेवा दिने योजना अस्पतालको छ ।

गोरखा अस्प्तालमा कोरोना संक्रमण देखिएका १४ जनालाई राखेर उपचार गर्न सुरु भएयता चेकजाँच गर्न जाने बिरामी घटेका छन् । ‘अस्पताल आउन डराउनुपर्दैन, हामीले छुट्टै चेकजाँचको ब्यवस्था गरेका छौँ’ सुचना अधिकारी कृष्ण ढकालले भने ‘आईशोलेसनमा रहेका बिरामीसँग भेट हुने, चेकजाँच गर्न आएका सबैलाई एकै ठाउँमा उपचार गर्ने होईन ।’
गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले आईशोलेसनमा बसेका बिरामीको स्वास्थ्य अवस्था बारे नियमित जानकारी लिईरहेको बताए । ‘हामी अस्पतालको नियमित सम्पर्कमा छौँ, केही समस्या परेमा गाउँपालिकाले सहयोग गर्छ’ उनले भने । गोरखाका ११ वटै स्थानीय तह मिलेर कोरोना संक्रमण देखिएकाहरुको सामुयिक उपचार गर्न आईशोलेसन निर्माणकालागि पाँच÷पाँच लाख संकलन गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङले बिपत्तीका बेला सबै मिलेर अघि बढ्दा समस्या समाधान गर्न सहज हुने भन्दै स्थानीय तहको यो कामको प्रशंसा गर्दै भने ‘जिल्ला समन्वय समितिको काम समन्वय गरिदिने हो, हामीले गरिरहेका छौँ ।’ एक सय ६५ बेड क्षमताको क्वारेन्टिन सहितको आईशोलेसन निर्माणका लागि अहिले समन्वयको अगुवाईमा काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्